'हिँसा' नहटेसम्म सदन चल्न नदिने माओवादीको अडान यथावत

'हिँसा' नहटेसम्म सदन चल्न नदिने माओवादीको अडान यथावत
सुन्नुहोस्

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद् अवरोध जारी राख्ने भएको छ । 

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलमा सहमति नजुटेपछि संसद अवरोध गर्ने यसघिको निर्णयमा माओवादी अडिग रहेको हो । 

पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद योगेश भट्टराईले भदौ १२ को प्रतिनिधिसभा बैठकमा माओवादी जनयुद्धलाई 'हिँसा' को संज्ञा दिएका थिए । संसदबाटै त्यसको प्रतिवाद गरेको माओवादीले रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग माग गरेको थियो । 

त्यसदिन सचिवालयका कर्मचारीलाई छानविन गर्न निर्देशन दिएका सभामुखले गत बुधबार 'हिँसा' शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने रुलिङ गरेपछि आकोशित माओवादी सांसदहरुले संसद अवरुद्ध गरेका थिए । आज सभामुख र सचेतकहरुबीच सदन खुलाउने विषयमा भएको छलफलमा दुबै पक्ष अ-आफ्नै अडानमा कायम रहे । 

त्यसपछि एक घण्टा अनौपचारिक छलफल गरेका माओवादी सांसदहरुले यसअघि संसदीय दलले गरेको निर्णयअनुसार सदन चल्न नदिने निर्णय गरेका हुन् ।

टिप्पणीहरू