गुप्तचरको मेसिनले सुन्ने कि थुन्ने ?

गुप्तचरको मेसिनले सुन्ने कि थुन्ने ?
सुन्नुहोस्

अघिल्लो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नेपाली जासुसहरूको कार्यक्षमता बढाउन भनी खरिद गरेको ४० करोडको भ्वाइस रेकर्डिङ मेसिनमा खिया लागेको छ ।

सो मेसिन शंकास्पद मान्छेहरूको टेलिफोन र मोबाइल कलहरू रेकर्ड गर्न भनेर किनिएको थियो । लहडमा ल्याइएको सो उपकरण बरफबागको एउटा कोठामा थन्काएर राखिएको छ । 

अर्कोतर्फ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा उनको सुरक्षामा खटिएका गुप्तचर हाकिम हेमन्त कार्की फिर्ता पठाइएका छन् भने केपी ओलीको सुरक्षार्थ महिला हाकिम लक्ष्मी पौडेललाई खटाइएको छ । नुवाकोट माइती भएकी पौडेल सबै दल र तिनका नेताहरूसँग कूटनीतिक रूपमा गुप्तचरको आचरण गर्न सिपालु अधिकृत ठानिन्छिन् । पौडेलद्वारा बदली गरिएका माओवादीनिकट एसपी दर्जाका हेमन्त कार्की भने समाचार संकलन शाखामा जुनियर अधिकृत छन् । 

त्यसो त गुप्तचर विभागमा रहेका दुई एआइजीमध्ये ओम जोशीलाई प्रशासन र टेकेन्द्र कार्कीलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको छ । सिंहदरबार परिसरभित्र सानो थुम्कोमा रहेको नेपाली गुप्तचरहरूको कार्यालय बरफबाग अहिले पूरै बेवारिसे हालतमा नभए पनि सो भवन उपयोगविहीन अवस्थामा छ । उक्त भवनमा राजशाहीका बेला तत्कालीन अधिराजकुमार धीरेन्द्रका एडिसी कर्णेल भरत गुरुङलाई थुनेर अनेकौं तस्करीको पोल खुलाइएको थियो । 
 

टिप्पणीहरू