प्रस्तावित राजदूतहरुको निर्णयअघि एमाले–काँग्रेसबीच खटपट

प्रस्तावित राजदूतहरुको निर्णयअघि एमाले–काँग्रेसबीच खटपट

संसदीय सुनुवाई समितिको बैठकमा सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसबीच खटपट भएको छ । १७ जना प्रस्तावित राजदूतहरुको बारेमा निर्णय लिन सिंहदरबारस्थित संसद सचिवालयमा आज बिहान बसेको बैठकमा दुई दलबीच विवाद भएपछि स्थगित गरिएको छ । 

काँग्रेसका सांसदहरुले एमालेको कोटाबाट मलेसियाको राजदूतमा सिफारिस डा. नेत्र तिमल्सिनाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे प्रश्न उठाएका थिए । नेपाल रेडक्रस सोसाइटीका तत्कालीन अध्यक्षसमेत रहेका तिमल्सिनाविरुद्धको मुद्दा विचाराधीन रहेकाले राजदूत नियुक्त गर्न नहुने उनीहरुको भनाइ थियो । 

आफ्नो पार्टीबाट सिफारिस राजदूतमाथि प्रश्न गरेपछि एमालेले काँग्रेसको सिफारिसमा परेका भारतका लागि डा. शंकरप्रसाद शर्मा, इजरायलका लािग धनप्रसाद पण्डित र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ नैतिक र संवैधानिक हिसाबले राजदूत बन्न नमिल्ने बताएको छ । भारतका लागि प्रस्तावित राजदूत डा.शर्मालाई दोहोर्याएर सिफारिस गरिएकोमा एमालेले आपत्ति जनाएको हो । 

त्यसैगरी, पण्डितविरुद्ध परेको उजुरीको विषय पनि बैठकमा निकालियो । दक्षिण अफ्रिकाका निम्ति प्रस्तावित राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य श्रेष्ठ संवैधानिक हिसाबले राजदूत बन्न नमिल्ने एमालेको जिकिरपछि बैठक रोकियो । स्थगितपछि प्रस्तावित राजदूतहरुको निर्णय पनि अलपत्र परेको छ ।

टिप्पणीहरू