एमाले महासचिव भन्छन् : रवि दोषी, बालेन अराजक

एमाले महासचिव भन्छन् : रवि दोषी, बालेन अराजक
सुन्नुहोस्

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कारबाहीको सिफारिसलाई ‘क्लिन चिट’ पाएको भन्दै गरेको हल्ला उनैलाई प्रत्युत्पादक भएको बताएका छन् । 

पार्टी निकटस्थ प्रेस चौतारी नेपालले गृहजिल्ला दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले थप अनुसन्धानको दायरामा पुगेको व्यक्तिले क्लिन चिटको हल्ला गर्नुको भित्री उद्देश्य अर्कै रहेको उल्लेख गरेका छन् । रविले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानको थप प्रक्रियालाई प्रभाव पार्न उक्त हल्ला गरेको महासचिवको ठहर छ । 

सहकारीको बचत रकम हिनामिना गर्ने, त्यसमा मिलेमतो गर्ने सबैलाई कारबाही हुनुपर्नेमा एमाले प्रष्ट रहेको बताएका छन् ।  
 
सोही क्रममा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको पनि कटाक्ष गरेका छन् । विकासमा सफल भन्दै कुर्लेका साहबारे उनको टिप्पणी छ, ‘मुलुकका सबै महानगरपालिकामध्ये काठमाडौं विकासमा कमजोर देखिन्छ ।’ साहले राजधानीलाई ठूलाबडाको मात्रै बनाउने कोशिस गरेको र उनको नेतृत्वपछि गरिब, निमुखाको काठमाडौं हुन नसकेको बताए । 

उनले बालेनलाई ‘अराजक’ को संज्ञासमेत दिएका छन् । आफूलाई जे मन लाग्यो त्यही गर्ने कदापी राजनीति नहुने महासचिवको भनाई छ ।

टिप्पणीहरू