माओवादीबीच एकता र फागुन १ गतेलाई राष्ट्रिय दिवस मनाउन प्रचण्डको आह्वान

माओवादीबीच एकता र फागुन १ गतेलाई राष्ट्रिय दिवस मनाउन प्रचण्डको आह्वान
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा जनयुद्धमा सहभागी सबै माओवादी घटकलाई एकताबद्धको निम्ति आह्वान गर्नुभएको छ । जनयुद्धबाट प्राप्त उपलब्धि र देखापरेका चुनौती सबै माओवादी घटकको निम्ति साझा उपलब्धि र चुनौती भएकाले मिल्नुको विकल्प नभएको उहाँको भनाइ छ । 

पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित सहिद प्रतिष्ठान नेपालको साधारण सभालाई सम्बोधन गर्दै उहाँले एकीकृत भएपछि मुलुकमा अहिले पनि माओवादी शक्ति सशक्त हुने उल्लेख गर्नुभयो । भन्नुभयो, ‘माओवादी जतिलाई एकीकृत र केन्द्रीकृत गर्नेबित्तिकै त्यो तागत निकै ठूलो हुनेवाला छ । हामी वैधानिक र शान्तिपूणरुपमा लडेर पनि जित्न सक्छौँ, जतिसक्दो चाँडो हामी एकताबद्ध भएर अघि बढौँ, विजय सम्भव छ ।’

यतिखेर संसदमा विपक्षीहरूलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको अध्यक्ष प्रचण्डको निश्कर्ष छ । संसदमा जनयुद्धलाई हिंसात्मक क्रियाकलापको रूपमा अर्थ्याइएको उल्लेख गर्दै उहाँले उक्त शब्द फिर्ता नलिँदासम्म आफूहरुको विरोध कायम रहने बताउनुभयो । फागुन १ गतेको जनयुद्ध दिवसलाई टिआरसी विधेयक पारित भएको अवस्थामा आगामी दिनमा राष्ट्रिय दिवसको रूपमा मनाउन जनस्तरबाट दबाब सिर्जना गर्न आग्रह गर्नुभएको छ ।
 

टिप्पणीहरू