ओली र मोदीबीच तीन कुरामा छलफल

ओली र मोदीबीच तीन कुरामा छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग न्यूयोर्कमा भेटवार्ता गर्नुभएको छ । 

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिका पुग्नुभएका ओली र भारतीय प्रधानमन्त्री मोदीबीच होटल लोट्टे न्युयोर्क प्यालेसमा भेटवार्ता भएको हो । उहाँहरुबीच करिब ४० मिनेट कुराकानी भएको बताइएको छ । 

  
भेटवार्तापछि प्रधानमन्त्री ओलीले फलदायी संवाद भएको भएको बताउनुभएको छ । ‘भारतीय प्रधामन्त्रीजीसँग फलदायी वार्ता भयो’, उहाँले समाजिक सञ्जालबाट भन्नुभएको छ, ‘भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयहरूमा छलफल गरियो ।’

त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीले पनि भेटवार्तापछि खुशी व्यक्त गर्नुभएको छ । यो भेटले दुई देशबीचको सम्बन्ध अझै बलियो बन्ने उहाँको विश्वास छ । 

‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो कुराकानी भयो, दुई देशबीचको पुरानो सम्बन्ध अझै बलियो हुने अपेक्षा गरेको छु’, मोदीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘भेटमा हामीले उर्जा, उद्योग र प्रविधिको विषयमा विभिन्न छलफल गर्यौ ।’

भारतको विदेश मन्त्रालयले पनि दुई देशका प्रधानमन्त्रीबीच मुख्यतया तीन कुरामा छलफल भएको जनाएको छ । पहिलो, दुई देशबीचको विगतका सम्बन्धहरुबारे संक्षेपमा समीक्षा भएको छ । त्यसक्रममा जलविद्युत, पूर्वाधार विकास, जनसम्पर्क र विकास साझेदारीका विषयमा पनि छलफल भयो । 

दोस्रो, मोदीले नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसओ)को सदस्य भएकोमा प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिँदै जलवायु परिवर्तनका चुनौतीहरुबारे धारणा राख्नुभएको थियो । 

त्यस्तै, दुई देशबीच उच्चस्तरीय भ्रमण र भेटवार्तालाई निरन्तरता दिने विषयमा पनि उहांहरुबीच छलफल भएको बताइएको छ । यस सन्दर्भमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्ता दिनुभएकोमा समकक्षी मोदीले चाँडै भ्रमणको कार्यतालिक मिलाउने प्रतिबद्धता जनाएको जानकारी गराइएको छ । 

भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री ओलीसहित पराराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल सहभागी थिए । भारतको तर्फबाट प्रधानमन्त्री मोदीसहित विदेशमन्त्री डा. एस जयशंकर, विदेश सचिव विक्रम मिश्रीलगायतको सहभागिता रहेको जनाइएको छ ।
 

टिप्पणीहरू