प्रधानमन्त्रीले सक्दिन भन्दाभन्दै

प्रधानमन्त्रीले सक्दिन भन्दाभन्दै
सुन्नुहोस्

प्रधानमन्त्री भन्छन्, कर्मचारीको तलब सुको बढाउन सकिँदैन । तर, सत्तारुढ पार्टीकै वरिष्ठ उपाध्यक्षका छोरा तलब बढाऊ भनेर आन्दोलन चलाइरहेका छन् दुई सातादेखि । खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा यसरी नै तालाबन्दी जारी छ ।

कृषि वैज्ञानिक बताउने उनी ईश्वर पोखरेलपुत्र सिर्जन हुन् । उनलाई कांग्रेसनिकट योजना निर्देशक लुमानिधि पाण्डेको दह्रो साथ छ । उनीहरूले कार्यकारी निर्देशक डा.दोजराज खनालको कार्यकक्षमा ताला लगाउँदा सबै सेवा ठप्प छ । केन्द्रमा तालाबन्दी, अन्य कार्यालयमा पेनडाउनसहित कार्यालयका चारपांग्रे गाडी प्रयोगमा निषेध छ । सिर्जन एस वान वैज्ञानिक हुन् । त्यहाँ  वैज्ञानिकको एस वानदेखि एस फाइभसम्म श्रेणी  छ । 

हरि पराजुली कृषिमन्त्री हुँदा तीन सयभन्दा बढी कर्मचारी भर्ती गरिएको थियो । नार्कमा हाकिम थिए– यमराज पाण्डे (वाइ आर), प्रतिव्यक्ति दुईदेखि ५ लाख उठाइएको आरोप त्यतिबेलाकै हो । त्यही लटमा हो– ईश्वर पोखरेलका पुत्रचाहिँ निःशुल्क छिरेका । परीक्षणकालमै २०७२ सालताका अमेरिकामा रहेकी श्रीमती भेट्न भ्रमण आदेश गराएर गएका उनलाई माथिल्लो निकायबाट स्पटीकरण सोधिए पनि कुनै कारवाही भएन ।

नार्कमा कार्यरत वैज्ञानिकहरूलाई विभेदकारी ढंगबाट तलबमान कायम गरिएको भन्दै पोखरेलको टोलीले आन्दोलन गर्दा पाटन उच्च अदालतले समानताको आधारमा तलबमान निर्धारण र कार्यान्वयन गराउन परमादेश जारी गरेको थियो ।

त्यसअनुरुप गर्न कार्यकारी निर्देशकले सञ्चालक समितिमा प्रस्ताव राखेका पनि हुन् तर अर्थ मन्त्रालयका प्रतिनिधिले स्रोत सुनिश्चित नभई नहुने अडान राखेपछि कुनै निर्णय हुन सकेको छैन । उनीहरूले परिषद्लाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउँदै परिषद्का कार्यकारी निर्देशक, निर्देशक र कानुनी सल्लाहकारको राजीनामा मागेका छन् । आफूहरू भने आन्दोलनकै बीच वैदेशिक भ्रमणमा पनि गइरहेकै छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू