यसकारण रविको रातिको भाषणमा झुल्किइन् निकिता

यसकारण रविको रातिको भाषणमा झुल्किइन् निकिता
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लासँगै हिजो साँझ बनस्थलीस्थित पार्टी कार्यालयमा जम्मा भएको भीडलाई रविले भने, ‘सरकारले प्रतिशोध साँध्न षड्यन्त्र रच्दैछ ।’ उनको भनााई थपडी बजाउँदै कार्यकर्ताले पनि ‘हो हो’ थपे । हुन त भीडको विवेक हुन्न भन्ने भाष्य छ । जुन, केही हदसम्म हिजो पनि सत्य साबित भएको छ ।

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियामा विभिन्न सहकारीबाट ६५ करोड बढी रकम गैरकानुनी ढंगले प्रवाह भएको पुष्टि गरिसकेको छ । मिडियाको आन्तरिक कारोबारमा भएको अनियमिततातर्फ संकेत गर्दै अध्यक्ष जिबी राई, उपाध्यक्ष छविलाल जोशी, प्रबन्ध निर्देशक रवि लामिछानेलगायतलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरिएको छ । 

कारबाहीको सिफारिस भएकालाई थप अनुसन्धानमा पक्राउ गर्दा कसरी षड्यन्त्र हुन्छ ? जब कि समितिको प्रतिवेदनमा उनकै पार्टीका सांसद शिशिर खनालले पनि राजीखुशी हस्ताक्षर गरेका छन् । 

समितिको प्रतिवेदनलाई प्रहरीले कार्यान्वयनमा ल्याएसँगै पूर्व डिआइजीसमेत रहेका छबिलाल दिउँसो पक्राउ परे । रविलाई पक्राउ गर्न लाग्दा कसरी षड्यन्त्र हुन्छ ? पक्राउ पर्नुपर्ने त, जिबी पनि हुन् । तर उनी फरार छन् । यद्यपि, उनलाई पक्राउ गर्न प्रहरीले के कस्तो गृहकार्य गरिरहेको छ ? यसको जवाफ सरकारले देला । तर एउटा प्रक्रियागत अनुसन्धानको निम्ति रविलाई पक्राउ गर्नु कुनै अनौठो होइन । कुनै आश्चर्य हुँदै होइन । 

रविले आफूमाथि लागेका आरोपको खण्डन गर्दै भनेका थिए, ‘म एमडी, एक कर्मचारीको हैसियतले मात्र कम्पनीको चेकहरुमा हस्ताक्षर गरेको हुँ, मेरो मुख्य काम टेलिभिजनको कार्यक्रम र समाचारमै केन्द्रित हुन्थ्यो ।’

रविको यो केटाकेटी भनाई हो । एमडी पद कुनै चानचुने होइन । कम्पनीको निर्देशकीय पद हो । कम्पनीको मुख्य सञ्चालकसँग आर्थिक कारोबारको छलफल हुन्छ । कर्मचारीलाई कति तलब खुवाउने ? कसरी खुवाउने ? को–कोलाई खुवाउने ? लगायत कुरामा एमडीको महत्वपूर्ण भूमिका हुन्छ । 

एमडी हुने, महिनाको पाँच लाख तलब खाने, ७० लाख एडभान्स लिने, अनि कम्पनी सञ्चालनको पैसा कहाँ बाट आयो ? भन्नेबारे समान्य हेक्का नराख्नेले विगतको एमडीको फुर्ति किन लगाउनु ? पत्रकारजस्तो मान्छे, नेता तथा व्यापारीको भण्डाफोर गरेर चर्चा कमाएको व्यक्तिले आफ्नै मालिकको खोजीनीति गर्न सक्दैनन्, सकेनन् भनेर कसरी पत्याउनु ? यद्यपि, रविको यो नाटक थप हेर्न लायक बन्दै छ ।

मिडिया ट्रयालको धम्की दिँदै आएका रवि आफैले पक्राउ पर्नबाट बच्न कति मिडिया ट्रायल गर्छन् ? त्यो विस्तारै थाहा हुँदै जाला । तर हिजो पार्टी कार्यालयमा देखिएको एउटा दृश्यले भने केहीलाई भावुक बनाएको मान्न सकिन्छ ।  

करिब ५ बजेतिर फैलिएको पक्राउको हल्लाले रवि त्रसित थिए । अनुहारमा अभिव्यक्त नभए पनि आफूले गरेको गल्तीसँग भित्रभित्रै डराएको कुरा उनको भाषणबाट स्पष्ट थाहा हुन्छ । अत्तालिएका रविलाई सम्हाल्न पत्नी निकिता लामिछाने पनि राति बूढानीलकण्ठस्थित घरबाट बनस्थली पुगिन् । साँझको खाना खान पर्खिरहेकी निकितालाई एकाएक श्रीमान पक्राउ पर्न लागेको हल्लाले तनाव नदिने कुरै भएन । 

रविले कार्यकर्ताको भीडलाई सम्बोधन गर्दै गर्दा निकिताले एकछिन् पनि साथ छोडिनन् । उनले रविको हात समातिरहिन्, काँधमा टाउको लगाएर । कार्यकक्षमा बसेर रविले पार्टीका नेताहरुसँग परामर्श गरिरहे । त्यतिबेला पनि निकिताले रविको छेउ नछाडेको भिडियोमा देखियो । स्रोतका अनुसार रवि हिजो पक्राउ नपर्ने निश्चित भएपछि मात्र उनी घर फर्केकी थिइन् ।

टिप्पणीहरू