१४ वटै शव शिक्षण अस्पतालमा

१४ वटै शव शिक्षण अस्पतालमा

काठमाडौं र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका-९ झ्याप्लेखोलामा पुरिएका सवारीबाट निकालिएको १४ जनाको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको छ । 

राती उद्दारमा खटिनुभएका धादिङको धुनिबेसी नगरपालिका-९ का वडा अध्यक्ष माधव सिलवालका अनुसार सबै शव माइक्रोबसबाट नै निकालिएको हो । 

बुटवलबाट काठमाण्डौ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट पाँच जना महिला, अन्दाजी १८ महिनाको बालक र आठ जना पुरुषको शव निकालिएको उहाँले जानकारी दिनुभयो । 'पहिरोमा दुई वटा बस अगाडि र भित्तापट्टीको भाग पुरिएको अवस्थामा छ । तर, बसभित्र यात्रु भेटिएको छैन', वडा अध्यक्ष सिलवालले भन्नुभयो-'सबै शव माइक्रोबस भित्रैबाट थुतिएको हो ।' 

माइक्रोबस धनीसंगको कुराकानी अनुसार मृत्यु हुनेमा बुटवलबाट १२ जना र नारायणगढबाट चढेका एक जना गरी १३ जना यात्रु र एक जना चालक हुन् । तर,पहिरोमा डुबिरहेको बसको चालक पनि सम्पर्कमा नरहेको कारण सबै शव माइक्रोबसकै यात्रुको भएको यकिन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताउनुभयो । 

"निरन्तरको वर्षा,पहिरो र लेदो माटोले पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्ड क्षतविक्षत छ ।"

स्थानीयका अनुसार शनिबार बिहान करिब २ बजे आसपास झ्याप्लेखोलामा ठूलो पहिरो खसेको थियो । त्यतिबेला नै माइक्रोबस (विंगर भ्यान) पहिरोमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ । 

माइक्रोबसलाई गएराती पहिरोबाट बाहिर निकालिए पनि पहिरोमा फसेका अन्य दुई वटा बसको उद्धार केही बेरमा थालिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिनुभयो। र्‍याकर र डोजरको सहायतामा उद्दार शुरु गरिनेछ । उद्दारको लागि प्रहरी उपरीक्षकसहितको टोली झ्याप्लेखोलातर्फ जाँदैछ । 

पूर्व पश्चिमका जिल्लाहरुबाट राजधानी काठमाडौं प्रवेश गर्ने नौबिसे नागढुंगा सडक बिहिबार साँझदेखि अवरुद्ध छ । निरन्तरको वर्षा,पहिरो र लेदो माटोले पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्ड क्षतविक्षत छ ।

टिप्पणीहरू