बाढीपहिरोमा पूर्वराजा पनि चिन्तित

बाढीपहिरोमा पूर्वराजा पनि चिन्तित

पूर्वराजा ज्ञानेन्द्र शाहले अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा बाढीपहिरो र डुबानबाट परेको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । 

उहाँले आज विज्ञप्ति जारी गर्दै केही दिनअघि नै भारी वर्षा हुनसक्ने मौसमी पूर्ण सूचना हुँदाहुँदै पनि त्यसमा अग्रिम तत्परता तथा पूर्व प्रतिकार्य नभएर यत्रो मानवीय र भौतिक क्षति हुनु निकै दुःखद कुरा रहेको बताउनुभएको छ । 

दशैँ,तिहारजस्ता महत्त्वपूर्ण पर्वहरु निकट आइरहेको बेला आवागमनका धेरै राजमार्ग र सडक सञ्जालहरु अवरुद्ध हुनु र त्यसबाट जनजीवनमा असुविधा पुग्नुमा आफ्नो गम्भीर चासो रहेको पनि पूर्वराजा ज्ञानेन्द्रले उल्लेख गर्नुभएको छ । 

उहाँले यो स्थितिमा मृतक परिवारलाई उचित राहत, बेपत्ताहरुको खोजी तथा घाइतेहरुको शीघ्र उपचार हुनुपर्ने धारणा राख्नुहुदैँ अस्तव्यस्त जनजीवनलाई सुधार गर्नतर्फ राज्यको तदारुक प्रयत्नका निम्ति आग्रह गर्नुभएको छ ।
 
साथै, प्रकृति, परिवेश र प्रवृत्तिअनुरुप विकास प्रक्रिया अघि बढाउनुपर्ने पूर्वराजा ज्ञानेन्द्रको सुझाव छ । उहाँले भन्नुभएको छ, ‘आफ्नो परिवेशमाथि खेलबाड हुने बस्ती,व्यवस्था र विकास गतिविधिले विपत्ति र विनास मात्रै निम्त्याउँदछ । त्यसमा हामी सबैको ध्यान पुग्नु पर्दछ भन्ने हाम्रो दृष्टिकोण हो ।’

 

टिप्पणीहरू