अभियानमा हिँडेका कार्यकर्तालाई कांग्रेसले उद्धारमा खटाउने

अभियानमा हिँडेका कार्यकर्तालाई कांग्रेसले उद्धारमा खटाउने

नेपाली कांग्रेसले बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ५० लाख जम्मा गर्ने भएको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । सांसदहरुको १५ दिनको तलब र पार्टी स्रोतबाट उक्त रकम व्यवस्थापन गर्ने प्रवक्ता डा.  प्रकाशशरण महतले जानकारी दिए । 

कांग्रेसले एकमहिने अभियान पनि दशैँसम्म स्थगित गरेको छ । राहत र उद्धारमा खट्नुपर्ने भएकाले यो निर्णय गरेको महतले बताए ।  

‘हाम्रो केन्द्रीय सदस्यहरुलाई पार्टीको एकमहिने अभियानको लागि जिल्ला-जिल्लामा पठाएका थियौँ, त्यो अभियानलाई कोजाग्रत पुर्णिमासम्म स्थगन गरेका छौ’, बैठकको निर्णय सुनाउँदै उनले भने, ‘र पार्टी संगठनका सदस्य, भातृ संगठन र सुभेच्छुक संगठनलाई राहत र उद्धारमा खटिन निर्देशन दिएका छौ ।’

प्रवक्ता महतले बाढीपहिरो प्रभावितहरुलाई तत्काल उद्धार गर्न र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण पनि गराए । त्यस्तै, वेपत्ता भएकाहरुको खोजी र घाइतेहरुको निशुल्क उपचारको प्रवन्ध मिलाउन काँग्रेसले सरकारलाई आग्रह गरेको छ ।
 

टिप्पणीहरू