अखिल क्रान्तिकारीको महाधिवेशन हलभित्रै नाराबाजी

अखिल क्रान्तिकारीको महाधिवेशन हलभित्रै नाराबाजी

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महाधिवेशनमा नाराबाजी भएको छ । चर्को प्रवेश शुल्कको विरोधमा महाधिवेशन हलभित्रै प्रतिनिधिहरुले नाराबाजी गरेका हुन् ।

कीर्तिपुरमा बिहीबारदेखि जारी महाधिवेशनमा प्रतिनिधिहरुको लागि प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकिएको छ । असन्तुष्ट विद्यार्थी प्रतिनिधिहरुले हस्ताक्षर संकलन गरेर अध्यक्ष मण्डललाई बुझाएपछि नाराबाजी भएको बताइन्छ । 

‘बन्दसत्र चलिरहँदा जुन प्रवेश शुल्क तोकिएको छ, त्यो अवैधानिक, अवस्तुवादी र अव्यवहारिक छ’, एक असन्तुष्ट विद्यार्थी नेताले भने, ‘दूरदराजबाट महाधिवेशनमा सहभागी हुन आएकाहरुको लागि यति महंगो शुल्क असुल गरेर महाधिवेशनलाई प्रभावित पार्न खोजिएको छ, यो हामी मान्दैनौं ।’

पछिल्लो प्रतिनिधि शुल्क तत्काल खारेज गर्न माग गरिएको छ । संकलित हस्ताक्षर पत्र देखाउँदै उनले थपे, ‘यसमा छ सयभन्दा बढीको हस्ताक्षर छ, हाम्रो विधानमा के छ भने कुनै विषयमा २५ प्रतिशत संख्याले दावीविरोध गरे पनि त्यो सुनुवाइको विषय हुनेछ । यसमा पनि तत्काल पुनर्विचार गरिनुपर्छ ।’

टिप्पणीहरू