जलविद्युतमा नसोचेको क्षतिका विवरण आउँदै

जलविद्युतमा नसोचेको क्षतिका विवरण आउँदै

अविरल वर्षा पछिको बाढीले जलविद्युत आयोजनाहरुमा अर्बौंको क्षति पुगेको अनुमान छ । साना तथा ठूला गरी देशका २६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको बताइएको छ । 

ऊर्जा तथा जलस्रोत मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त जानकारी दिएका हुन् । क्षतिको पूर्णविवरण अझै आइनसकेको कारण अझ बढ्नसक्ने उनको अनुमान छ । 

सबैभन्दा बढी क्षति ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनामा पुगेको छ । यसको कन्ट्रोल रुम, सेटलिङ बेसिन र कल्भर्ट पूर्णरुपमा क्षतिग्रस्त छ । आयोजनाका चार कर्मचारीलाई बाढीले बगाएर अझै बेपत्ता पारेको छ । 

त्यस्तै, बागमती साना जलविद्युत आयोजनाको विद्युत गृह पूर्ण रुपमा डुब्दा करोडौंको क्षति भएको छ । कावेली करिडोर, खिम्ती लामोसाँघु, सोलु करिडोरमा पनि धेरै क्षति भएको जानकारी दिइएको छ । 

तल्लो हेवाखोला जलविद्युत आयोजना, माइखोला क्यासकेड जलविद्युत आयोजना, माइखोला जलविद्युत आयोजना, फेमे खोला जलविद्युत आयोजनाका विभिन्न टावर पर्खालमा क्षति पुगेको छ । सिउरीखोला जलविद्युत आयोजना, सुपरन्यादी जलविद्युत आयोजना, इलेप खोला तातोपानी जलविद्युत आयोजना, माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना, सभाखोला बी जलविद्युत आयोजना र सभाखोला सी जलविद्युत आयोजनाको पावर हावसमा निकै क्षति पुगेको प्राधिकरणले जनाएको छ । 

विभिन्न सिँचाइ आयोजनामा पनि एक अर्बभन्दा बढीको क्षति पुगेको अनुमान छ ।

 

टिप्पणीहरू