भैँसी दुहुन अमेरिका नगएको प्रधानमन्त्रीको प्रष्टीकरण

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा भैँसी दुहुन नगएको बताउनुभएको छ । बाढी–पहिरोको विपदमा पनि प्रधानमन्त्रीले भ्रमण नछोट्याएको जनाउँदै आलोचना भइरदा उहाँले उक्त धारणा राख्नुभएको छ ।

अपरान्ह काठमाडौँ ओर्लनुभएका ओलीले त्रिभुवन विमानस्थलमै पत्रकार सम्मेलन गर्दै भन्नुभयो, ‘म कुनै भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो हैन, त्यहाँ हाम्रो विचार र समस्या राख्न गएको हो, रखियो ।’

अमेरिकाका विभिन्न कार्यक्रममा पनि प्राकृतिक प्रकोप र विपद व्यस्थापनको सम्बन्धमा छलफल भएको उहाँको भनाई छ । भ्रमणको क्रममा भएका छलफलबारे जानकारी दिदै थप्नुभयो, ‘यी समस्याहरू एउटा देशका मात्रै होइन । ग्लोबल समस्या ग्बोबलले मिलेर समाधान गर्नुपर्छ भन्ने भयो । अल्पविकसित देशहरूले बढी भोग्नुपरेको क्षति र मार जुन छ, क्षति पुर्याउने कुरामा हात नभए पनि बढी मार सहनुपरेको छ ।’

प्रधानमन्त्री ओलीले बाढी पहिरो पीडितहरुको राहतमा सरकारले कुनै कसर बाँकी नराख्ने पनि आश्वासन दिनुभयो । विपदको समयमा सरकारको आलोचना गर्नुभन्दा सहकार्य गर्न उहाँको आग्रह छ । 

सरकारले भ्याएसम्मको राहत र उद्धार गरेको दावी गर्दै, ‘मैले बाहिर हुँदा पनि जानकारी लिएको छु । सरकारले आफ्नो बलबुताअनुसार काम गरेको छ । विरोधका लागि विरोध होइन । सबै मिलेर अघि बढ्नु आवश्यक हुन्छ । र ‘सरकार यहाँहरूकै हो । यस विपद्को घडीमा सक्दो सहयोग र राहत पु¥याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।’

टिप्पणीहरू