प्रधानमन्त्रीसँग भैसक्यो त भेट, परराष्ट्रमन्त्रीले पनि दोहोर्याउनुपर्ने ?

प्रधानमन्त्रीसँग भैसक्यो त भेट, परराष्ट्रमन्त्रीले पनि दोहोर्याउनुपर्ने ?

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्कनुभएको छ । संयुक्त राष्ट्र संघको ७९ औं महासभालाई सम्बोधनपश्चात २२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ हिजो दिउँसो काठमाडौं आइपुग्नुभएको हो । टोलीमा रहनुभएकी परराष्ट्रमन्त्री राणा भने न्युयोर्कबाट राजधानी वासिङ्ग्टन डिसी पुग्नुभएको छ ।

गत बिहीबारदेखिको अविरल वर्षापछि शुक्रबार र शनिबार आएको बाढीपहिरो र डुबानका कारण हिजो बेलुकीसम्म दुई सय जनाभन्दा बढीले ज्यान गुमाएका छन् । २६ जना अझै बेपत्ता रहेको अवस्था छ । बाढी पहिरोले सडक, पुल,जलविद्युत परियोजनामा अर्बौंको क्षति पुर्याएको अनुमान छ ।

मुलुकमा विपद् हुँदा प्रधानमन्त्री, परराष्ट्रमन्त्रीको टोली अमेरिकातिर घुमघाममा मस्त रहेको भनी आलोचना भइरहेको छ । महासभालाई सम्बोधन गरेपछि मुलुक फर्कन ढिलो गरेकोमा सर्वसाधारणले सामाजिक सञ्जालमा रोष प्रकट गरेका छन् । 

शनिबार राजधानी काठमाडौंलगायत धेरै भूभागमा प्राकृतिक प्रकोपको वितण्डा मच्चिरहँदा प्रधानमन्त्री बोस्टनमा अवैतनिक वाणिज्यदूत नियुक्त प्रह्लाद केसीको घरमा झण्डोत्तलन गर्दै हुनुहुन्थ्यो भने परराष्ट्रमन्त्री राणा नेपाली काँग्रेस निकटस्थ समूहहरुसँग लञ्च र डिनरमा व्यस्त हुनुहुन्थ्यो।

जति आलोचना भए पनि परराष्ट्रमन्त्री डा. देउवा न्युयोर्कबाट वासिङ्ग्टन पुगी अमेरिकी अधिकारीहरुसँग दोहोर्याएर भेटघाट गर्नुभएको छ । उहाँले हिजो नागरिक सुरक्षा,प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियासँग भेटवार्ता गर्नुभएको छ ।

नेपाली राजदूतावासको सो भेटवार्तामा नेपाल–अमेरिका आपसी हितका विविध विषयका साथै शान्ति,मानवधिकार र प्रजातन्त्रका विषयमा कुराकानी भएको बताइन्छ । 

त्यसैगरी उहाँले अमेरिकी सहयोग कर्पोरेसन (एमसीसी) का सिइओ एलिस पी अल्ब्राइटसँग पनि भेट गर्नुभएको छ । जबकी प्रधानमन्त्री ओलीसँग अल्ब्राइटले यसअघि न्युयोर्कमा भेट गरिसक्नुभएको थियो ।

यसबीच मन्त्री राणाले वाशिंगटनमा नेपाल–अमेरिका द्विपक्षीय परामर्श संयन्त्रसम्बन्धी एमओयुमा हस्ताक्षर गर्नुभएको छ । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिलासम्बन्धी उपमन्त्री जोन बास र मन्त्री राणाले एमओयुमा हस्ताक्षर गर्नुभएको हो ।


टिप्पणीहरू