प्रधानमन्त्रीले बोलेका कुराको काँग्रेसले जिम्मा नलिने

प्रधानमन्त्रीले बोलेका कुराको काँग्रेसले जिम्मा नलिने

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति र कार्यशैलीको आलोचना गर्न थालेका छन् । 

आज बसेको काँग्रेस संसदीय दलको बैठकमा सांसदहरुले प्रधानमन्त्री ओलीको भनाई र गराइबीच तालमेल नमिलेको भन्दै आक्रोश पोखेका छन् । सांसद शंकर भण्डारीले प्रधानमन्त्रीको जथाभावी अभिव्यक्तिको जिम्मेवारी काँग्रेसले लिन नसक्ने बताए ।

देश बाढीपहिरोको चपेटामा परेका बेला देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा रमाएको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले आफू भैंसी दुहुन अमेरिका नगएको टिप्पणी गर्नुभएको थियो । हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभएको थियो, ‘म अमेरिकामा भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो हैन ।’

सोही प्रसंग स्मरण गर्दै सांसद भण्डारीले भन्नुभयो, ‘प्रधानमन्त्रीको बोली जथाभावी भयो, उहाँको प्रत्येक बोलीको जिम्मेवारी हामीले लिनुपर्छ, उहाँ स्वदेशबाट फर्कने बित्तिकै के बोलेको त्यस्तो, यो ठीक भइरहेको छैन ।’

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि विपदमा चुकेको कुरा आत्मबोध गर्न सरकारलाई आग्रह गर्नुभएको छ । ‘सम्भावित विपदबारे पूर्वसूचना हुँदाहुँदै सरकार नराम्ररी चुकेको छ, जसरी काम हुनुपथ्र्यो त्यो हुन सकेन, यो कुरा सरकारले आत्मसमीक्षा गर्नुपर्छ’, बैठकमा शर्माको जोड थियो । 

त्यस्तै, प्रमुख सचेतक श्याम घिमिरेले चाडपर्वको बेला थपिएको चुनौतीबाट पछि हट्न सरकारलाई छुट नभएको स्पष्ट पार्नुभयो । सरकारको ध्यानाकर्षण गराउँदै भन्नुभयो, ‘अवरुद्ध सडकहरुको मर्मत संभारको कार्य तीव्र गतिमा अघि बढाई सम्भव भएसम्म अस्थायी रुपमा वैकल्पिक मार्गको समेत व्यवस्था गरी नागरिकहरु दशैंमा घर जानसक्ने अवस्था निर्माणका लागि सरकारसँग अनुरोध गछौँ ।’

अवरुद्ध सडक पूर्णरुपमा सञ्चालनमा नआउँदासम्म महँगो हवाई भाडादरलाई सहुलियत बनाउन पनि काँग्रेसले सरकारलाई सुझाव दिएको छ ।
 

टिप्पणीहरू