समग्रमा ११ अर्बको क्षति, खानेपानीमा साढे तीन अर्ब नोक्सानी

समग्रमा ११ अर्बको क्षति, खानेपानीमा साढे तीन अर्ब नोक्सानी

काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डूबानबाट अर्बौंको भौतिक संरचनमा क्षति पुग्दा सबैभन्दा बढी खानेपानी क्षेत्र प्रभावित भएको छ । 

सरकारको तर्फबाट आज क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै मुख्यसचिव एकनारायण अर्यालले उक्त कुरा जानकारी गराएका हुन् । बाढीपहिरोले ११ अर्ब बढी सार्वजनिक पूर्वाधार ध्वस्त भएको र खानेपानीका संरचनामा मात्रै तीन अर्ब ५५ करोड क्षति भएको सरकारको आकलन छ । 

त्यस्तै, सडक संरचनामा दुई अर्ब ५२ करोड, उर्जामा चार अर्ब र सिंचाई पूर्वाधारतर्फ एक अर्ब क्षतिको पूर्वानुमान भएको मुख्यसचिव अर्यालले बताए । 

गत बिहीबारदेखि तीन दिनसम्म परेको अविरल वर्षापछि आएको प्रकोपबाट २१ जिल्ला बढी प्रभावित भएका छन् । जसमध्ये काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ्ग, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर अति प्रभावित छन् । 

मुख्यसचिव अर्यालका अनुसार बाढीपहिरोबाट हालसम्म २२४ जनाले ज्यान गएको छ भने २४ जना अझै बेपत्ता छन् । १५८ जना घाइतेको उपचार भैरहेको छ । त्यस्तै, चार हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको छ ।

टिप्पणीहरू