बंगलादेशलाई बिजुली बेच्ने सम्झौता आज,देला त भारतले स्वीकृति ?

बंगलादेशलाई बिजुली बेच्ने सम्झौता आज,देला त भारतले स्वीकृति ?

नेपालले बंगलादेशमा ४० मेगावाटसम्म बिजुली निर्यात गर्नसक्ने भएको छ । काठमाडौंमा सम्पन्न दुबै मुलुकको उर्जा सचिवस्तरीय बैठकबाट ४० मेगावाट बिजुली बंगलादेश बिक्रीका लागि आज दिउँसो ३:३० बजे सम्झौता गर्ने निर्णय भएको छ ।

काठमाडौंमा आज बिहानदेखि नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको छैठौं बैठक बसेको छ । सोही बैठकले विद्युत खरिद–बिक्रीको सम्झौता गर्ने निर्णय गरेको हो । 

आजको निर्णयानुसार नेपाल–बंगलादेशबीच ४० मेगावाट विद्युत व्यापारको निम्ति नेपाल विद्युत प्राधिकरण,बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत व्यापार निगमबीच त्रिपक्षीय सम्झौता हुने कार्यक्रम छ । 

आजको बैठकमा छ वटा सहमति भएको छ । जसअनुसार, 

१. नेपालमा उत्पादित ४० मेगावाट विद्युत बंगलादेशमा निर्यातका लागि नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपीसि विद्युत व्यापार निगम, भारतबीच विद्युत बिक्री सम्झौता गर्ने ।

२. सुनकोशी–३ जलविद्युत आयोजना नेपाल, बंगलादेश र भारतबीच सहकार्यपूर्ण सहभागिताको आधारमा विकास गर्ने र उक्त आयोजना विकास गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्ने सम्बन्धी संयुक्त उपक्रम सम्झौताबारे अर्को बैठक अगाडि टुङ्गो लगाउने । सुनकोशी– ३ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत भारत हुँदै बंगलादेशसम्म पुर्याउने सुनिश्चितताको लागि भारत सरकारलाई अनुरोध गर्ने ।

३. नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरुको प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्ने ।

४. नेपालको जलविद्युत क्षेत्रमा लगानीको प्रवद्र्धनका लागि बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न व्यावसायिक सम्मेलन आयोजनको लागि सम्भावनाहरुको खोजी गर्ने ।

५. वैकल्पिक ऊर्जाको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र बंगलादेशको स्रेडाबीच हुने सम्झौतालाई अन्तिम रुप दिएर हस्ताक्षर गर्ने । 

६. नेपाल, बंगलादेश र भारतबीच विद्युत व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विद्युत क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन पहल गर्ने ।

टिप्पणीहरू