दशैंअघि विपी राजमार्गमा सवारी साधन नगुड्ने

दशैंअघि विपी राजमार्गमा सवारी साधन नगुड्ने

राजधानीलाई पूर्वी भूगोलसँग जोड्ने विपी राजमार्गमा दशैँभन्दा अघि सवारी साधन नगुड्ने निश्चित भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोगका लागि सुझाव दिनुभएको छ  । 

गत शुक्रबार र शनिबारको अविरल वर्षाको कारण रोशी खोलामा आएको बाढीले उक्त राजमार्गको करिब १२ किलोमिटर सडक बगाएको छ । मन्त्रालयको टोलीले हिजो हेलिकोप्टरमा क्षतिग्रस्त सडकको अवलोकन गरेको थियो । यसबारै जानकारी दिँदै मन्त्री दाहालले दशैँअघि सुचारु गर्न सकिने अवस्था नरहेको ठहर गर्नुभएको छ ।

‘हिजोको अवलोकनपछि दशैँभन्दा अघि सुचारु गर्न नसकिने निष्कर्षमा पुगेका छौँ’, उहाँले भन्नुभयो, ‘तर त्यहाँ अलपत्र परेका गाडीहरु चाही कसरी निकाल्ने भन्नेबारे छलफल गर्दैछौं ।’

मन्त्री दाहालका अनुसार पूर्व जोड्ने विपी राजमार्ग र पश्चिम जोड्ने पृथ्वी राजमार्गमा बाढी पहिरोले नसोचेको क्षति भएको छ । उहाँका अनुसार बाढी पहिरोले ३४ वटा राजमार्गको आठ सयभन्दा बढी ठाउँमा अवरोध पुर्याएको छ । तीमध्ये हाल साना राजमार्ग सुचारु भएपनि मुख्य राजमार्ग सुचारु गर्न निकै कठिन देखिएको हो ।

हाल अवरुद्ध भएका राजमार्गहरु अस्थायी रुपमा सुचारु गर्न तीन अर्ब र पुनस्थापना गर्न २५ अर्बभन्दा बढी लाग्ने मन्त्रालयको प्रारम्भिक अनुमान छ ।

टिप्पणीहरू