आइजिपीमाथि आधा दर्जन आरोप

आइजिपीमाथि आधा दर्जन आरोप

प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरविरुद्ध अख्तियार अनुसन्धान दुरूपयोग आयोगमा उजुरी परेको छ । प्रहरी सरुवा बढुवामा लेनदेन गरेको, छानबिनको नाममा उठाएको, व्यापारीसँग मोलमोलाई गरेर अख्तियारको दुरूपयोग गरेको लगायत आरोपसहित आयोगमा उजुरी गएको हो ।

नयाँबानेश्वरका केदार भण्डारीले अख्तियारसहित प्रधानमन्त्री कार्यालय, प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समिति र गृह मन्त्रालयमा पनि उजुरी दिएका छन् । अख्तियार स्रोतका अनुसार तथ्यसहित उजुरी आएपछि आयोगले छानबिन प्रक्रिया अघि बढाएको छ ।

आरोप नम्बर एक :तराईको एसपी सरुवामा लाखौं असुली 

आयोग स्रोतका अनुसार तराईका जिल्लाहरूको प्रहरी प्रमुख सरुवा गर्दा लाखौँ असुल गरेको आरोप छ । पर्सा, सिरहा, धनुषा र महोत्तरी जिल्लाबारे उजुरीमा विशेष उल्लेख छ । भनिएको छ, ‘गत २ फागुन २०८० मा मधेस प्रदेशका चार जिल्लामा एसपीे सरुवा भएको थियो । प्रहरी प्रधान कार्यालयले तीमध्ये ३ जनालाई ४२ दिनमा बिनाकारण फिर्ता गर्दा पर्साका कुमोद ढुंगेल भने कायम राखिए । ढुंगेलले भारतमा फरार अपराधी समाउने भन्दै जहाजमार्फत काठमाडौं आएर आइजिपीलाई कोशेली बुझाएका थिए । त्यसपछि लगत्तै साउन २०८१ मा समेत काठमाडौं आएर त्यसरी नै दाखिला गरे । 
कुँवर मधेश प्रदेशमा (डिआइजी) भएको बेला हुन्डी कारोबारी र तस्करबाट नियमित उठाउन आफूअनुकूलका एसपीहरू पठाएको उजुरीमा दावी गरिएको छ । 

आरोप नम्बर दुई : लेखापाल सरुवामा घुस

१० साउन २०८१ मा मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापाल सरुवा गर्दा पैसा असुलेको आरोप लागेको छ । उजुरीमा भनिएको छ, ‘नायब महानिरीक्षक (डिआइजी) केदार ढकालले यसको सबै सूची तयार पारी प्रतिव्यक्ति २ देखि ७ लाखसम्म असुलेका थिए । 

आरोप नम्बर तीन : ज्ञवालीसँग ५ करोड असुली

यसैगरी, उजुरीमा पूर्व एआइजी श्यामलाल ज्ञवालीसँग आर्थिक लाभ लिएर छानबिन तुहाएको आरोप छ । उनीमाथि छानबिनका लागि एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको थियो । तर, पछि आइजिपी कुँवर उनलाई कारबाही नगर्ने पक्षमा उभिए । उजुरीका अनुसार ज्ञवालीलाई कारबाही नगर्ने शर्तमा व्यापारी रवि केसी, प्रभु बैंकको मुख्य संस्थापन समूह, क्यानका महानिर्देशक प्रदीप अधिकारीलगायतले रकमको जोहो गरेका थिए ।

आरोप नम्बर ४ : डिएसपी सरुवामा असुली

यसैगरी उजुरीमा प्रहरीको जिल्ला नेतृत्वमा असुलीको अरोप लगाइएको छ । भनिएको छ, ‘७ असोज २०८१ मा कुँवरले एकै दिन ४१ जना प्रहरी उपरीक्षक (एसपी) र १४३ जना नायब उपरीक्षक (डिएसपी)को सरुवा गरे । संखुवासभामा दक्षकुमार बस्नेतले २० लाख, दरबारमार्ग वृत्तमा राजकुमार श्रेष्ठले १५ लाख, बौद्धमा जयश्वर रिमालले ३० लाख र बालाजुमा दानबहादुर थापाले ३ लाख बुझाएका छन् । यसैगरी भक्तपुरमा इञ्चार्ज पाएका माधवप्रसाद बुढाथोकी, मकवानपुरमा जिम्मा पाएका विश्वराज खड्का, कपिलवस्तुमा जिम्मा पाएका निरञ्जनदत्त भट्ट, सप्तरीमा जिम्मा पाएका ढकेन्द्र खतिवडा र बर्दियामा जिम्मा पाएका केदार खनालबाट पनि लाखौं लिइएको छ ।’

आरोप नम्बर ५ : व्यापारीसँग असुली

यसैगरी उजुरीमा सुन तस्करी र हुन्डी कारोबारी निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन) को अध्यक्ष मनोज कार्की, अन्तर्राष्ट्रिय विमानस्थलतिर कन्फेक्सनरीको दोकान गर्ने सुवास श्रेष्ठबाट कुँवरले मासिक बुझेको आरोप लागेको छ । 

आरोप नम्बर ६ : रवि र दीपकसँग मिलेर असुली 

यसैगरी कुँवरमाथि यसअघि रवि लामिछाने गृहमन्त्री भएको बेला उनका स्वकीय सचिव दीपक बोहोरासँग सरुवा र बढुवामा मिलिभगत गरेको आरोप लागेको छ । उजुरीमा भनिएको छ, ‘बौद्धमा जिम्मेवारी पाएका जयश्वर रिमालले कुँवर र बोहोरालाई दिनु पर्ने भन्दै पैसा उठाएका थिए ।’ 

आरोप नम्बर ६ : चिनियाँसँग असुली 

यसैगरी उजुरीमा कुँवरले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी भएको बेला तस्करीमा संग्लन चिनियाँ नागरिकविरुद्ध अपरेशन चलाएर करोडौं उठाएको अर्काे आरोप छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू