थिम्पुमा भेटघाट र मन्दिर दर्शनपछि पूर्व राजाको आगमन

थिम्पुमा भेटघाट र मन्दिर दर्शनपछि पूर्व राजाको आगमन

पूर्व राजा ज्ञानेन्द्र शाह भुटान भ्रमणपछि काठमाडौं फर्कनुभएको छ । उहाँ डु्रक एअरको उडान नम्बर केबी ४०० मा भुटानको पारोबाट बिहान सवा ८ बजे स्वदेश आइपुग्नुभएको छ ।

छोरी प्रेरणा र भतिजी सिताष्मासहित पाँच जनाको टोलीसँगै पूर्व राजा भुटानको तीन दिने भ्रमणमा जानुभएको थियो । यसअघि उहाँले भुटानी नरेश, रानी र शाही नातेदारहरुसँग भेट गर्नुभएको थियो ।

थिम्पुस्थित राजदरबारमा त्यहाँका बडामहाराज पूर्व राजा जिग्मे सिग्मे वाङचुकसँग भेटवार्ता गर्नुभएको थियो । शाह र वाङचुक दुवै दार्जिलिङको सेन्ट जोसेफ कलेजका सहपाठी हुनुहुन्छ । जिग्मे वर्तमान राजा जिग्मे केसर नाम्ग्यालका पिता हुन् । त्यस्तै भुटानी मुमा बडामहारानीसँग छुट्टै भेट गर्नुभएको थियो । 

पूर्व राजा शाहले राजदरबारमा भुटानी नरेश जिग्मे केसर नाम्ग्याल र रानी जेत्सुन पेमा र राजकुमारहरुसँग पनि भेट गर्नुभएको थियो । राजा जिग्मे केसर जन्मने क्षणमा तत्कालीन राजा वीरेन्द्रले ज्ञानेन्द्रलाई रोयल लियाजो अफिसरको रुपमा प्रसुति गृह, थापाथलीमा खटाइदिनुभएको थियो । राजा जिग्मे सिंगे वाङचुकको औपचारिक बिहे हुनुअघि नै वर्तमान राजा जिग्मे केसर नाम्ग्यालको जन्म गोप्य रुपमा काठमाडौंको इन्द्र राज्यलक्ष्मी परोपकार प्रसुतिगृह, थापाथलीमा भएको थियो । ज्ञानेन्द्रले नवजात शिशु नामग्याल र उनकी नवप्रसुता आमाको हेरचाहमा सम्पर्क व्यक्तिको भूमिका निर्वाह गर्नुभएको बताइन्छ । त्यसैले राजा नामग्यालले नेपाललाई आफ्नो जन्मभूमि मान्ने गरेका छन् ।

स्वदेश फर्कनुअघि उहाँले बडा दशैंको उपलक्ष्यमा राजधानी थिम्पुस्थित शक्तिपीठ पाञ्चायन मन्दिरमा पूजाअर्चना र मन्दिर अवलोकन गर्नुभएको थियो ।

टिप्पणीहरू