चिली पुगेपछि उपेन्द्र यादव सर्वसम्मत

चिली पुगेपछि उपेन्द्र यादव सर्वसम्मत

जनता समाजवादी पार्टी (जसपा) नेपालले राजनीतिक दलहरु आवद्ध अन्तर्राष्ट्रिय संगठन ‘प्रोग्रेसिभ एलायन्स’ को सदस्यता प्राप्त गरेको छ । दक्षिण अमेरिकी मुलुक चिलीको स्यान्टियागोमा हिजो सम्पन्न एलायन्सको विश्व सम्मेलनले जसपा नेपाललाई संगठनको पूर्णसदस्यता दिने निर्णय गरेको छ । 

विश्वका १९० वटा राजनीतिक दल सदस्य रहेको उक्त एलायन्समा नयाँ सदस्यताका लागि भएको मतदानमा जसपा नेपाललाई सदस्यता प्रदान गर्ने सर्वसम्मत निर्णय भएको हो ।

एलायन्सका सदस्य रहेका सबै राजनीतिक दलका प्रतिनिधि सहभागी उक्त सम्मेलनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापाले पार्टीको प्रतिनिधित्व गरेका छन् । सम्मेलनमा प्रगतिशील र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको युगको निम्ति स्वतन्त्रता, सामाजिक न्याय, मानव अधिकारको सुनिश्चितता, लैङ्गिग विभेद, सामाजिक–आर्थिक तथा जातीय विभेद, असमानता र उत्पीडनको अन्त्य एवम् पर्यावरणीय सुरक्षाजस्ता विषयमा छलफल भएको जनाइएको छ ।

यसअघि साउन दोस्रो साता यादव फिलिपिन्समा भएको प्रोग्रेसिभ एलायन्सको एसिया प्यासिफिक १५ औं वार्षिक सम्मेलनमा सहभागी भएका थिए ।  यलायन्सको ब्रोडर कन्फरेन्समा उनले ‘ग्लोबल क्राइसिस’ शीर्षकमा धारणा राखेको उक्त कार्यक्रममा नेपालबाट नेपाली काँग्रेस र जसपा नेपाल फिलिपिन्स सम्मेलनमा सहभागी थिए । 

त्यतिबेलासम्म एलायन्समा काँग्रेस पूर्णकालीन र जसपा सह–सदस्य थियो । हिजोदेखि जसपा पूर्ण सदस्य बनेको छ । भारतका काँग्रेस आईलगायत चार दल उक्त एलायन्सको सदस्य छन् । 

सोसलिष्ट इन्टरनेसनलमा निश्चित मुलुकका राजनीतिक दलहरुको बर्चश्व रहेपछि अन्य मुलकका राजनीतिक दलहरुले प्रोग्रेसिभ एलायन्स गठन गरेका थिए । विशेषगरी यसमा जर्मनीका राजनीतिक दलहरुको चासो बढी देखिन्छ ।

टिप्पणीहरू