चुनावी प्रक्रियामा होमियो माओवादी, साना पार्टीसँग तालमेल गर्ने

चुनावी प्रक्रियामा होमियो माओवादी, साना पार्टीसँग तालमेल गर्ने

नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा हुने उपचुनावमा सत्ता गठबन्धनमा नभएका दलहरुसँग तालमेल गर्ने भएको छ। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले विशेष परिपत्र जारी गर्दै सत्तारुढ दलबाहेकका वाम देशभक्त दलहरूसँग सहकार्यलाई अगाडि बढाउन तल्ला तहका कमिटीलाई निर्देशन दिएका हुन् । 

‘आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि एकलरूपमा चुनाव लड्ने तयारी गर्ने, साथै सत्तारुढ दलबाहेकका वाम देशभक्त दलहरूसँग सहकार्यलाई अगाडि बढाउन पहल गर्ने’, परिपत्रमा भनिएको छ । 

माओवादीले उम्मेदवार छनोटको मापदण्ड र  प्रक्रियाका सम्बन्धमा पनि मातहतका कमिटीलाई निर्देशित गरेको छ । सकभर सहमतिको आधारमा उम्मेदवार तय गर्नुपर्ने, तर सहमति हुन नसकेको खण्डमा बहुमतीय प्रणालीको आधारमा माथिल्लो कमिटीलाई सिफारिस गर्नुपर्नेछ । 

जसअनुसार वडाध्यक्षको उम्मेदवार छनोट गर्दा वडा कमिटिको बैठक बोलाएर सहमति खोज्ने नभए निर्वाचनमार्फत निर्णय गरी पालिकालाई सिफारिस गर्नुपर्ने छ । सोको जानकारी कात्तिक २५ गतेसम्म प्रदेश पार्टी कार्यालय र केन्द्रीय कार्यालयलाई गराइसक्नुपर्ने छ । 

त्यस्तै, पालिका प्रमुख, उप्रमुख, अध्यक्ष र उपाध्यक्षको हकमा सम्बन्धित वडाका प्रतिनिधि र पालिका समितिको संयुक्त बैठक बसी सहमतिको आधारमा उम्मेदवार छनोट गर्नुपर्नेछ । सहमति हुन नसकेमा बहुमतीय प्रणालीबाट छनौट गरी प्रदेश समितिलाई सिफारिस गर्नुपर्ने छ । 

माओवादीले निर्वाचनमा धाँधली हुनसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सतर्क रहन पनि निर्देशन दिएको छ । ‘मतदान केन्द्र, मतपेटिकाको सुरक्षा तथा निर्वाचन धाँधलीरहित बनाउन मतदान केन्द्रमा प्रतिनिधि खटाउने र मतपरिणाम घोषणा नहुँदासम्म विशेष सतर्कता अपनाउने’, परिपत्रमा लेखिएको छ ।
 

टिप्पणीहरू