जनार्दन र शक्तिलाई गिज्याइरहेको पुल

जनार्दन र शक्तिलाई गिज्याइरहेको पुल

रुकुम र जाजरकोट जिल्लाका दुई जना लामो समयदेखि केन्द्रीय राजनीतिमा शक्तिशाली नेता छन् । माओवादीका जनार्दन शर्मा र शक्ति बस्नेत दुबै माओवादीका शीर्ष नेता मात्र होइनन् पटक पटक मन्त्रीसमेत भइसकेका छन् । तर यस्ता शक्तिशाली नेताको जिल्ला भएर गएको मध्यपहाडी लोकमार्गको पुल एक दशकदेखि अलपत्र छ । 

राष्ट्रिय गौरवको आयोजनामा परेको पुलले रुकुम–चौरजहारी–जाजरकोटलाई जोड्छ । समयमा पुल निर्माण सम्पन्न नहुँदा राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी सडकले रुकुम र जाजरकोटलाई सीधा जोड्न सकेको छैन ।

रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने मोटरेबल पुल निर्माणको काम २०७२ सालमा थालिएको हो । केही वर्षअघि पुल निर्माणको करिब १५ प्रतिशत काम सकिए पनि पछिल्लो छ वर्षको कार्यप्रगति शून्य छ । राष्ट्रिय गौरवको आयोजनामा रहेको पुल निर्माणको काम वर्षौंदेखि अलपत्र परेको हो ।

निर्माण कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण पुल निर्माण अलपत्र भएको बताइन्छ । समयमा पुल नबन्दा उक्त मार्गमा यात्रा गर्ने सवारी साधन र यात्रुहरुलदे सास्ती खेप्नु परेको छ । रुकुमबाट पूर्वको सडक खण्ड सञ्चालनमा आएपछि पोखरा–काठमाण्डौंसम्म सीधा यातायात सञ्चालन हुन थालेको छ । पश्चिम खण्ड भने ती पुलको कारण अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । 

शुरुमा पुल निर्माणको ठेक्का वाईपी कन्स्ट्रक्सनले लिएको थियो । तर दशकसम्म काम सम्पन्न नगरेपछि लोकमार्ग आयोजना कार्यालयले कारबाहीस्वरुप ठेक्का रद्द गर्यो । त्यसपछि पटक पटक निर्माणको टेण्डर आह्वान गरेपनि हालसम्म कसैले ठेक्का हालेका छैनन् । दशंैतिहार लगत्तै कार्यालयले पुनः अर्को टेण्डर आह्वानकाल लागि सूचना प्रकाशितको तयारी गरेको छ । 

रुकुम खण्डसमेत हेर्ने पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना दैलेखका अनुसार  पुल नहुँदा रुकुम र जाजरकोटबासी सडक सञ्जालमा जोडिनबाट बञ्चित छन् । दुवै जिल्लाबासीले छोटो यात्राको लागि पैदल आवत–जावत गर्दै आएका छन् । सवारी साधन प्रयोग गर्दा लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता छ ।

 

टिप्पणीहरू