मोहीयानी हक खोज्दै पशुपति पुगेका मारवाडीहरुसँग घम्साघम्सी

मोहीयानी हक खोज्दै पशुपति पुगेका मारवाडीहरुसँग घम्साघम्सी

काठमाडौँ महानगर प्रहरी र मारवाडी समुदायबीच पशुपतिनाथ मन्दिर परिसरमा कुटाकुटको अवस्था उत्पन्न भएको छ । मारवाडीहरुले कब्जा जमाएको गौशालास्थित पशुपतिनाथको धर्मशाला खालि गराउन पुगेको महानगर प्रहरीलाई मारवाडी सेवा समितिले अवरोध गरेपछि लफडा भएको बताइन्छ ।

२१ वर्षदेखि मारवाडी सेवा समितिले सस्तो भाडादरमा धर्मशालाको ९ रोपनी ९ आना दुई पैसा जग्गा भोगचलन गर्दै भएको थियो । तर, सुदन किराँती पर्यटनमन्त्री भएका बेला २०८० साउन १७ गते पशुपति क्षेत्र विकास कोषले सम्झौता खारेज गर्ने निर्णय गरेपछि मारवाडी सेवा समिति काठमाडौँ जिल्ला अदालत पुगेको थियो । 

सम्झौता खारेजीको निर्णय अदालतले सदर गरेपछि पनि मारवाडीहरुले धर्मशाला नछाडेकाले आज महानगर प्रहरी त्यहाँ पुगेको हो । त्यसक्रममा माडवारीहरुले ‘धर्मशालाका सम्पूर्ण भौतिक संरचना मारवाडी समाजद्वारा निर्मित हो’, ‘८४ वर्षदेखि हामी निरन्तर सेवामा समर्पित छौ’, ‘हामी बहालमा होइनौ, मोही हौँ’, ‘सेवा नै धर्म हो, यही नै मारवाडीको कर्म हो’, ‘न्याय पाउनु हाम्रो मौलिक अधिकार हो’ लगायतका नारा लगाएका थिए ।

 

उनीहरुले मोहीयानी हक खोज्दै धर्मशाला नछाड्ने अडान लिएपछि नगर प्रहरीसँग धक्कामुक्का भएको थियो । समितिले ०२१ र ०४४ सालको नापी फिल्डबुक, मालपोतको श्रेष्ता, गुठी संस्थाको श्रेष्ता र पशुपति क्षेत्र विकास कोषको मोही लगत नम्बर ८३७ कायम रहेकाले धर्मशालाको जग्गामा आफूहरुको हक लाग्ने जिकिर गर्दै आएको छ ।

तर, जिल्ला अदालतको फैसलाले धर्मशाला पशुपति क्षेत्र विकास कोषको नाममा आइसकेको सन्दर्भमा थप कानुनी लडाईं लड्न पाउनुपर्ने जिकिर माडवारीहरुको छ । जिल्ला अदालतको पूर्णपाठ आएपछि उच्च अदालतमा पुनरावेदन गर्न पाउने संवैधानिक अधिकार प्रयोग गर्ने जनाउँदै उसले मुद्दाको अन्तिम किनारा नलागेसम्म कसैले हस्तक्षेप गर्न नपाउने बताएको छ ।

अवरोधबीच महानगर प्रहरीले धर्मशालाबाट मारवाडी सेवा समितिको बोर्ड हटाएर महानगरको बोर्ड झुण्डाएको छ ।

टिप्पणीहरू