गोरखाको फूलपाती सडक मार्गबाट
गोरखाबाट फूलपाती सवारी साधनमा ल्याइएको छ । गोरखाको कालिका मन्दिरस्थित दशै घरबाट काठमाडौंको हनुमान ढोकामा भित्र्याउन ल्याइएको बा.२ झ २११८ नम्बरको सवारी साधनमा पठाइएको छ ।
गोरखा दरबारका मूल पूजारी शारदाप्रसाद भट्टराईका अनुसार गोरखा दरबार वरपर संकलन गरिएको फूलपातीमध्ये केही हनुमान ढोकामा पठाइएको छ भने केही गोरखा दरबारमा भित्र्याईंदै छ ।
पहिले गोरखाबाट पैदल मार्ग हुँदै फूलपाती काठमाडौँ पठाइन्थ्यो । सडक खुलेपछि सवारी साधनमा पठाउन थालिएको हो । पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका विजयी गरेपछि गोरखाको फूलपाती हनुमान ढोकामा भित्राउने प्रचलन भएको हो ।
गोरखाबाट फूलपाती पठाउँदा गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर, प्रमुख जिल्ला अधिकारी भोला दाहाललगायतको उपस्थिति थियो ।
टिप्पणीहरू