एमालेले अब आफ्नै भवन ठड्याउने

एमालेले अब आफ्नै भवन ठड्याउने

बल्खुको भवन भूकम्पले ढलेपछि लामो समय भाडाको घरबाट कार्यालय चलाउँदै आएको सत्तारुढ दल नेकपा एमालेले आफ्नै भवन बनाउने भएको छ । 

आज बसेको सचिवालय बैठकले भोलि भवन शिलान्यास गर्ने निर्णय गरेको हो । कीर्तिपुर नगरपालिका-२ स्थित घडेरीमा भोलि १२ बजेर २५ मीनेटमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम रहेको एमालेले जानकारी दिएको छ । 

एमालेले नयाँ कार्यालय भवन बनाउन लागेको स्थान कलंकी, तीनथाना नजिकै पर्छ । करिब १० देखि १२ रोपनी घडेरीमा बन्ने उक्त भवनको नाम 'मदन भण्डारी स्मृति भवन' रहने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।  

२०७२ सालको विनाशकारी भूकम्पले मदन नगर बल्खुमा रहेको कार्यालय ध्वस्त भएपछि त्यसयताका ९ वर्ष एमालेले विभिन्न ठाउँमा भाडाका घर प्रयोग गर्दै आएको छ । यसबीच धुम्बाराही, थापाथली हुँदै अहिले ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको नाममा रहेको भवनबाट केन्द्रीय कार्यालय सन्चालन भैरहेको छ । 

तर,च्यासलमा ठाउँ अपुग हुनुका साथै बाढी र डुबानका कारण अप्ठेरो परेकोले आफ्नै स्वामित्वमा सुविधासम्पन्न आधुनिक कार्यालय बनाउन एमालेले एक वर्षदेखि नै तयारी गरिरहेको थियो । गत वैशाखमा गोदावरीमा भएको महाधिवेशन प्रतिनिधि परिषद् बैठकको समापन समारोहमा कार्यालय भवन निर्माणका लागि रकम संकलन अभियान घोषणासमेत भएको थियो । 

सदस्यता नवीकरण र बिस्तार गर्दा प्रत्येक पार्टी सदस्यबाट सय रुपैयाँ पार्टी कार्यालय भवनका लागि अनिवार्य संकलन गर्ने निर्णय गरेको एमालेले रकम जम्मा गर्न क्युआर कोडसमेत सार्वजनिक गरेको थियो । १८ बुँदे कार्ययोजनामा थप आर्थिक सहयोग गर्न चाहनेहरुको लागि रोष्टर तयार पार्ने उल्लेख छ ।

टिप्पणीहरू