आफ्नो पार्टी र कांग्रेसबाहेक अरु नामेट हुने एमाले महासचिवको ठोकुवा

आफ्नो पार्टी र कांग्रेसबाहेक अरु नामेट हुने एमाले महासचिवको ठोकुवा

जबजको व्याख्याता भनिएका तर पछिल्लो समय दुई दलीय प्रणालीको वकालतकर्ता रहेका एमाले महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस र आफ्नो पार्टीबाहेक अरुको अस्तित्व समाप्त हुने दाबी गरेका छन् । 

काँग्रेसले पुँजीवादी र एमालेले समाजवादी विचारको नेतृत्व गर्ने भन्दै उनले जनमत ती दुई दलको वरिपरी ध्रुवीकृत हुँदै अरुको अस्तित्व नरहने बताएका हुन् । गृह जिल्ला दाङको तुलसीपुरमा आयोजित अगुवा कार्यकर्तालाई भेलालाई आज सम्बोधन गर्दै पोखरेलले धेरै दल अस्तित्वमा रहेका कारण मुलुकमा राजनीतिक स्थिरता कायम हुन् नसकेको तर्कसमेत गरे । 

‘धेरै दल हुँदा सरकारहरु अस्थिर भए । त्यसैले नेपाललाई दुई दलीय व्यवस्थामा लैजानुपर्छ’, उनले भने । 

प्रमुख दुई दल काँग्रेस र एमाले मिलेर सरकार बनाएपछि मुलुकमा त्यसको साकारात्मक प्रभाव देखिन थालेको पनि उनको जिकिर छ । काँग्रेसको समर्थनमा आफ्ना अध्यक्ष खड्ग प्रसाद शर्मा ओली प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार आउन थालेको पोखरेलको दाबी छ ।

टिप्पणीहरू