व्यापारीसँग 'दान' लिएर एमालेले कार्यालय बनाउन लागेकोप्रति काँग्रेसको विरोध

व्यापारीसँग 'दान' लिएर एमालेले कार्यालय बनाउन लागेकोप्रति काँग्रेसको विरोध

भाटभटेनी डिपार्टमेन्टल स्टोरका मालिक मीनबहादुर गुरुङले एमालेको पार्टी कार्यालय बनाइदिन लागेको विषय विवादमा परिरहेका बेला सत्ता साझेदार दल नेपाली काँग्रेसले पनि असन्तुष्टि जनाएको छ । 

व्यापारीसँग सहयोग लिएर पार्टी कार्यालय बनाउने निर्णय नसच्याउने एमालेको प्रष्टोक्ति सार्वजनिक भैरहँदा कांग्रेसका प्रभावशाली नेताहरुले प्रतिक्रिया दिएका हुन् । महामन्त्री विश्वप्रकाश शर्माले व्यापारीको सम्पतिमा देशकै ठूलो कम्युनिष्ट पार्टीले कार्यालय बनाउँदा लाखौँ नेता-कार्यकर्ताको अपमान हुनेतर्फ सजग गराए । 

पार्टीको भवनमा सबै नेता-कार्यकर्ताको बलियो भावना गाँसिनुपर्ने बताउँदै उनले भने, ‘जहाँसम्म पार्टी कार्यालयहरुको कुरा छ, त्यो चैं मूलत: पार्टी सदस्यहरुले मिलेर बनाउनुपर्छ, मुठ्ठी बटारेर आकाशमा उचाल्नेहरु, प्रत्येकले आफ्नो केन्द्रीय कार्यालय बनाउन एकएक मुठ्ठीको योगदान गर्न पाउनुपर्छ ।’

ठूला व्यवसायीसँग भूकम्प प्रभावितलाई हजार घर बनाइदेऊ भनेर प्रधानमन्त्रीले अपिल गर्न सक्ने तर, पार्टी कार्यालय बनाउन सहयोग लिन नहुने शर्माको भनाई छ । 

‘भूकम्प प्रभावितलाई हजार घर बनाइदेउ, गाउँमा शैक्षिक संस्था र स्वास्थ्य चौकिका भवनहरु बनाइदेउ, बाढिले नबग्ने सय पुल र एउटा आकर्षक रंगशाला बनाइदेउ, अझ ठुलो दान लिने भए देशलाई ऋणमुक्त बनाउन साथ देउ, यस्तो पनि त भन्न मिल्छ’, उनले भनेका छन् । 

महामन्त्री शर्माले स्वदेश र विदेशमा रहेका कांग्रेस सदस्यले पार्टीको केन्द्रीय कार्यालय आफैँले बनाएको स्मरण पनि गराएका छन् । ‘स्वदेश र विदेशमा रहेका हरेक काँग्रेस सदस्य गर्व गर्छन् । श्रमिक, किसान, सयौं शुभचिन्तक एवं समर्थकको अपनत्व र स्वामित्व यसमा छ’, एमालेलाई उनको सल्लाह छ । 

कांग्रेसकै अर्का नेता नैनसिंह महरले पनि व्यावसायीसँग सहयोग लिएर पार्टी कार्यालय बनाउने कुरा सुशासनको दृष्टिले राम्रो नहुने स्पस्ट पारेका छन् । गुरुङलाई जग्गा फिर्ता गर्नसमेत उनको सुझाव छ । 

जनतामा व्याप्त निराशालाई आशामा परिणत गर्न अहिलेको सत्ता गठबन्धन बनेको उल्लेख गर्दै महरले प्रधानमन्त्रीले कसैबाट दान लिनु सुशासनको खिलाप हुने बताए । गुरूङविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा पार्टी कार्यालय भवन बनाउन उनैबाट जग्गा दान लिनुले देशमा विधिको शासन छ कि छैन ? भन्ने प्रश्न उब्जिएको उनको भनाइ छ ।

'भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न' भन्दै सुशासनको चर्को भाषण गर्ने प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पत्नी राधिका शाक्य र भाटभटेनीका मालिक मीनबहादुर गुरुङ/पत्नी सावित्री गुरुङसहित दशैँको महाअष्टमीको दिन कार्यालय भवनको शिलान्यास गरेका थिए । कीर्तिपुर नगरपालिका-२ स्थित १० रोपनी १४ आना घडेरीमा अर्को वर्ष घटस्थापनाभित्र कार्यालय निर्माण गरेर हस्तान्तरण गरिसक्ने जग्गादाता गुरुङले बताएका छन् । 

व्यापारीसँग हात थापेर अध्यक्षले कार्यालय भवन बनाउन लागेपछि एमालेकै कतिपय नेताहरुसमेत असन्तुष्ट देखिएका छन् । पार्टीमा कहीं कतै औपचारिक छलफल नगरी र नेतृत्वलाई जानकारी नगराई व्यापारीसँग घाँटी जोडेको भन्दै स्थायी कमिटी सदस्य विन्दा पाण्डेले चर्को आलोचना गरेकी छन् ।  

महासचिव शंकर पोखरेललगायत अधिकांश नेताले गुरुङलाई दानवीरको संज्ञा दिँदै उनले दिएको जग्गामा भवन बनाउने निर्णयको बचाऊ गरिरहँदा पाण्डेले भने आपत्ति जनाएकी हुन् । यो कदमले पाँच लाख स्वाभीमानी पार्टी कार्यकर्ताको शीर झुकेको र २८ लाख मतदाताको अपमान भएको उनको गुनासो छ । 

२०७२ को महाभूकम्पले बल्खुको कार्यालयमा क्षति पुगेपछि एमालेले धुम्बाराही,थापाथली हाइट हुँदै हाल ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा कार्यालय सञ्चालन गर्दै आएको छ ।
 

टिप्पणीहरू