बोलीमा आफू पक्का रहेको प्रधानमन्त्रीको भनाइ

बोलीमा आफू पक्का रहेको प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व आलोपालो गर्ने नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँगको सहमति तल–माथि नहुने बताउनुभएको छ । तिहारपछि सरकार परिवर्तन हुने चर्चा चलिरहेका बेला उहाँको यस्तो प्रतिक्रिया आएको छ । 

दुई वर्षे कार्यकाल पूरा गर्नेबितिक्कै देउवालाई सत्ता हस्तान्तरण गर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार २०८४ सालको निर्वाचनसम्म कायमै रहने दाबी गर्नुभएको छ ।

सरकार तत्काल परिवर्तन हुन्छ भनेर अनावश्यक भ्रम फैल्याइएको जनाउँदै उहाँले त्यसमा विश्वास नगर्न सबैलाई आग्रह पनि गर्नुभएको छ । ६९ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ०८४ को चुनावपछि नयाँ सरकार बन्ने तर त्यसअघि काँग्रेस–एमाले गठन नतोडिने जिकिर गर्नुभयो ।

‘अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्नेकुरा पनि सुनिन्छ । दशैंपछि तुरुन्त परिवर्तन हुन्छ रे । कुन दशैँपछि ? २०८४ सालको दशैँपछिको चुनावमा ? त्यसभन्दा पहिला मैले पहिले नै भनिसकेको छु–मैले एक वर्ष नौ महिना जति रह्यो होला । त्यसपछि शेरबहादुरजीलाई हस्तातरण गर्छु भनेर मैले पहिला नै भनिसकेको छु । त्यसपछि आफैं फेरिन्छ यो सरकार’, उहाँले भन्नुभयो ।  

आफू नेतृत्वको सरकार दुई तिहाई बहुमतको रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई खरानीको डल्लो नसम्झन चेतावनी पनि दिनुभएको छ ।

टिप्पणीहरू