सरकार काम चलाउ भएको ठहर गर्दे रास्वपाद्वारा विशेष अधिवेशन माग

सरकार काम चलाउ भएको ठहर गर्दे रास्वपाद्वारा विशेष अधिवेशन माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्को विशेष अधिवेशन आह्वानको माग गरेको छ । नेपाली कांग्रेस–एमाले गठबन्धन सरकारले नागरिकमा आशा जगाउने काम गर्न नसकेको उल्लेख गर्दै रास्वपाले विशेष अधिवेशनका लागि दलहरुको ध्यानाकर्षण गराएको छ । 

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय जीवनका तमाम समस्याबारे तत्काल छलफल गर्न आवश्यक देखिएकाले राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि अपिल गर्दै सबै राजनीतिक दलहरुको ध्यानाकर्षण गराउँदछ ।’ दुईतिहाइको सरकार कामचलाउ जस्तो भएको उल्लेख गर्दै विज्ञप्तिमा सरकारले घोषित प्रतिबद्धता पूरा गर्नेतर्फ प्रारम्भिक संकेत समेत देखाउन नसकेको उल्लेख छ ।

विपद्को पूर्व तयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको बताउँदै रास्वपाले मुद्दा खेपिरहेका विवादित व्यापारीबाट करोडौं मूल्य पर्ने जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले स्वार्थको द्वन्द्वको डरलाग्दो अभ्यास गर्दा सुशासनको अडान धरमराएको बताएको छ । 

संविधान संशोधनको बहसलाई औचित्य पुष्टि हुनेगरी सरकारले श्वेतपत्र नै जारी गर्ने अपेक्षा आफूहरुले राखेको भएपनि यो विषय अहिले ओझेलमा पारिएको रास्वपाको ठहर छ ।

आम नागरिकमा चरम असन्तुष्टि र उद्यमी व्यवसायीमा निराशा बढेको जनाउँदै विज्ञप्तिमा सरकारको अन्तर्राष्ट्रिय विश्वसनीयता समेत फितलो हुँदा द्विपक्षीय आर्थिक सम्बन्ध गत्यवरोध हुन थालेको बताइएको छ ।  

संवादहीनतामा लोकतन्त्र फस्टाउन नस्क्ने भन्दै रास्वपाले शिथिल अर्थतन्त्र, कमजोर विपद् व्यवस्थापन, उकुसमुकुसपूर्ण सामाजिक परिस्थिति र युवाहरुमाझ निराशा फैलिएकाले यस्तो बेला नागरिक समाज र जनप्रतिनिधिहरु मौन बस्न नमिल्नेमा जोड दिएको छ ।

टिप्पणीहरू