उपचुनावमा महिलाको उम्मेदवारी सुनिश्चित गराउन निर्देशन

उपचुनावमा महिलाको उम्मेदवारी सुनिश्चित गराउन निर्देशन

आगामी मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा महिला उम्मेदवारको सुनिश्चित गर्न निर्वाचन आयोगले राजनीतिक दलहरुलाई निर्देशन दिएको छ । 

आयोगले आज विज्ञप्ति जारी गर्दै रिक्त पदहरुमा उम्मेदवारी दिँदा महिलाको प्रतिनिधित्व रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिएको हो । जसअनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालेको रिक्त स्थानीय तहमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्नुपर्नेछ । 

'२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

स्थानीय तहमा रिक्त ४० पदका लागि मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । मङ्सिर २ गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

टिप्पणीहरू