रवि लामिछाने पक्राउ परेपछिको रणनीति बनाउँदै रास्वपा

रवि लामिछाने पक्राउ परेपछिको रणनीति बनाउँदै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु बालाजु वनस्थलीस्थित पार्टी कार्यालयमा भेला हुन थालेका छन् । सभापति रवि लामिछाने आजै पक्राउ पर्न सक्ने सम्भावना भन्दै पार्टी नेता तथा कार्यकर्ताले आन्तरिक मेसेज पठाएपछि कार्यालय परिसरमा नेता तथा कार्यकर्ताहरुको चलहपहल बढेको छ ।

रास्वपा कार्यालयमा लामिछानेसहित उपसभापतिद्वय डीपी अर्याल, स्वर्णिम वाग्लेलगायत नेताहरु कवीन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ, शिशिर खनालहरुबीच छलफल भइरहेको बताइन्छ । अन्य नेता तथा कार्यकर्ताहरु कार्यालय पुग्ने क्रम जारी छ । 

यसअघि असोज ६ गते राति पनि लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि उनीहरु एकाएक वनस्थली पुगेका थिए । आज भने कार्यकर्तालाई नबोलाइएको सांसद शिशिर खनालले जानकारी दिए । अहिले सभापति लामिछाने पक्राउ परेमा अपनाउने रणनीतिबारे छलफल भइरहेको बताए । 

सभापति पक्राउ परिहाल्नु भयो भने कसरी अघि बढनुहुन्छ त ? भन्ने जनआस्थाको प्रश्नमा खनालले भने, ‘पक्राउ गर्न आउँदा प्रहरीले पक्कै पक्राउ पुर्जी लिएर आउँछ । त्यसमा के लेखिएको हुन्छ, त्यही अनुसार हामी अघि बढ्छौं । सामान्य सोधपुछको लागि मात्रै हो सघाउने कुरा भयो, तर संगठित अपराधमा जोड्ने प्रकृति रहेछ भने हामी कडा प्रतिवाद गर्छौं ।’

उता कास्कीका एसपी श्याम ओलिया र डिएसपी वसन्त शर्मा पक्राउ पुर्जी लिन जिल्ला अदालत कास्की पुगेको बताइएको छ ।
 

टिप्पणीहरू