६५ करोडबारे जवाफ दिए रविलाई न्याय मिल्ने एमाले नेताको दाबी

६५ करोडबारे जवाफ दिए रविलाई न्याय मिल्ने एमाले नेताको दाबी

नेकपा एमालेका नेता विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्दैमा आकाश नखस्ने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि उनले सामाजिक सञ्जालमा चर्को आक्रोश पोखेपछि रिजालले गरेको टिप्पणीमा उक्त दाबी गरिएको छ ।

रविले सरकार मरेको र आफूलाई जुठो परेको टिप्पणी गरेपछि रिजालले सरकार नमरेको बरु सक्रिय भएको उल्लेख गरेका छन् । उनले लामिछानेलाई कानुनलाई सघाउन सुझाव दिएका छन् । लेखेका छन्, ‘६५ करोडबारे जवाफ दिनुस् अदालतले न्याय दिइहाल्छ नि ।’

रिजालले यसअघि आफ्नै सरकार भएको बेलामा बालकृष्ण खाँण र कृष्णबहादुर महरा पक्राउ परेको उल्लेख गर्दै सहकारीको ६५ करोड हिनामिनाबारे जवाफ दिन आग्रह गरेका छन् । 

रवि पक्राउ पर्नुभन्दा केही मीनेटअघि लेखेको स्टाटसमा भनिएको छ, ‘रवि लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी हुनु न खुसीको कुरा हो न दुःखको । कानूनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ । गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँणहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश खसेन, राजनीतिक प्रतिशोध भएन,’ उनले सामाजिक संजालमा लेखेका छन्, ‘रविजी पक्राउ पर्दा चाहिँ के आकाश खस्छ ? कानूनलाई सघाउनुस्, ६५ करोड बारे जवाफ दिनुस्, अदालतले न्याय दिइहाल्छ नि ।’

टिप्पणीहरू