रवि बोलेपछि कार्यकर्ता उग्र, अश्रुग्यास हानियो

रवि बोलेपछि कार्यकर्ता उग्र, अश्रुग्यास हानियो

रवि लामिछाने पक्राउको विरोधमा सडकमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तामाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको छ । 

निषेधित क्षेत्रमा प्रवेश गरेका उनीहरुलाई सम्झाइबुझाई गर्दा नमानेपछि प्रहरीले शुरुमा पानीको फोहोरा हानेको थियो । त्यसपछि पनि रास्वपा कार्यकर्ता पछि नहटेपछि अश्रुग्याँस प्रहार गरिएको हो । 

म्याद थपका लागि अदालत लैजाने क्रममा रविले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को आक्रोश पोखेपछि कार्यकर्ताले प्रदर्शन झन् उग्र पारेका छन् । बाक्लो संख्या परिचालन भएका प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ । 

पोखरास्थित सूर्यदर्शन सहकारीको बचत हिनामिना अभियोगमा शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछाने अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । केहीबेरअघि उनलाई कास्की जिल्ला अदालतमा म्याद थपको लागि पेश गरिएको हो । 

यता सहकारीका पीडितहरुले पनि पोखरामा छुट्टै प्रदर्शन गरिरहेका छन् । सहकारी घोटलाका आरोपित लामिछानेसहित उनका व्यवसायिक पार्टनर जिबी राई र छविलाल जोशीको तस्वीर अंकित कालो ब्यानर बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

अहिले दुवैतर्फको प्रदर्शनलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

टिप्पणीहरू