रिपोर्टिङमा गएका पत्रकार रवि लामिछानेका कार्यकर्ताद्वारा कुटिए

रिपोर्टिङमा गएका पत्रकार रवि लामिछानेका कार्यकर्ताद्वारा कुटिए

रवि लामिछानेको समर्थनमा सडकमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले पत्रकारमाथि हातपात गरेका छन् । 

रास्वपाका कार्यकर्ताले आज बिहान प्राइम टेलिभिजका पत्रकार निरज तामाङ, अनिता घिमिरे र क्यामेरा मेन अर्जुन भण्डारीमाथि हातपात गर्नुको साथै सञ्चार उपकरणसमेत तोडफोड गरेका हुन् । उक्त टेलिभिजनका सञ्चालक ऋषि धमला हुन् । 

घटनाको नेपाल पत्रकार महासंघले निन्दा र भर्त्सना गरेको छ । महासचिव रोशन पुरीले विज्ञप्ति सार्वजनिक गर्दै विरोध प्रर्दशनको लाइभ गरिरहेका दुई पत्रकार र एक क्यामेरा मेनमाथि भएको हातपातको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

‘आन्दोलनरत कार्यकर्ताले हाम्रो पार्टीविरुद्ध समाचार प्रसारण गर्ने यही टेलिभिजन हो भन्दै प्रत्यक्ष प्रसारणमा संलग्न पत्रकारमाथि हातपात गर्नुका साथै क्यामेरा तोडफोडको प्रयास गरिएको घटनाप्रति ध्यानाकर्षण भएको छ’. विज्ञप्तिमा भनिएको छ । 

यस घटनाले पत्रकार र नागरिकको संविधानप्रदत्त अधिकारमा हस्तक्षेप भएको ठहर गर्दै महासंघले यसलाई प्रेस स्वतन्त्रतामाथिको प्रहार भनेको छ । भनिएको छ, ‘नागरिकलाई सुसूचित गराउन सञ्चारकर्ममा खटिरहेका पत्रकारमाथि एउटा स्थापित पार्टीका कार्यकर्ताबाट भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो ।’

टिप्पणीहरू