कारबाही सिफारिस भएका व्यक्तिलाई पक्राउ गरिएको सरकारको प्रष्टोक्ती

कारबाही सिफारिस भएका व्यक्तिलाई पक्राउ गरिएको सरकारको प्रष्टोक्ती

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको गिरफ्तारीलाई सरकारले संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनको प्रारम्भिक प्रक्रिया भनेको छ । 

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिवेदनमाथि कारबाही शुरु भएको प्रतिक्रिया दिएका हुन् । समितिले दिएको प्रतिवेदनअनुसार कारबाही सिफारिस भएका व्यक्तिलाई पक्राउ गरिएको उनले स्पष्ट पारे । 

‘संंसदले गठन गरेको सर्वाधिकारसम्पन्न सर्वदलीय समितिले जुन प्रतिवेदन दिएको थियो,’ गुरुङले भने, ‘त्यसलाई मन्त्रिपरिषद्ले स्वामित्व ग्रहण गरी कार्यान्वयनको अभियानमा लगेको छ । त्यस प्रतिवेदनले औँल्याएको व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिने क्रमको यो त सुरुवात भएको मात्र हो ।’ 

प्रतिवेदनले दोषी ठहर्याएका अन्य व्यक्ति पनि क्रमशः पक्राउ पर्ने र कारबाही अघि बढ्ने उनले जानकारी दिए ।

सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिले विभिन्न सहकारीको बचत हिनामिनामा संलग्न रहेको ठहर गर्दै रविसहित विभिन्न व्यक्तिलाई कारवाही सिफारिस गरेको थियो । त्यसैका आधारमा शुक्रबार बेलुकी काठमाडौँमा पक्राउ परेका रवि कास्की प्रहरीको हिरासतमा छन् । 

उनको पक्राउ विरुद्ध रास्वपाका नेता–कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका छन् ।

टिप्पणीहरू