जता रवि उतै छोरी, बाबु-आमाको दिग्दारी

जता रवि उतै छोरी, बाबु-आमाको दिग्दारी
सुन्नुहोस्

दलीय व्यवस्थामा पार्टी रोज्न पाउने प्रत्येक नागरिकको अधिकार हो । जो कोहीले आफूलाई मन पर्ने दलप्रति आस्था राख्न पाउँछ । त्यसैले एउटै छानोमुनि बस्नेहरु पनि फरक पार्टीमा सक्रिय भइरहेका हुन्छन् ।    

यस्तै एउटा रोचक राजनीतिक पात्र बनेकी छन्,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल । उनका मातापिता एमालेका प्रतिबद्ध कार्यकर्ता हुन् । छोरी भने अहिले एमालेकै विरुध्द सडक संघर्षमा उत्रिएकी छन् । 

क्रान्तिशिखाका बाबु राजेश धिताल रोल्पाका पुराना शिक्षक हुन् । दाङ गृह जिल्ला भएका उनी माओवादी द्वन्द्वताका जागिरको सिलसिलामा त्यता पुगे । रोल्पाका विभिन्न विद्यालयमा शिक्षक तथा स्रोतव्यक्ति भएर काम गरे । 

जागिरको क्रममा एमाले कार्यकर्ताको रुपमा सक्रिय राजनीति गरिरहँदा त्यतिबेला रोल्पामा माओवादीको जगजगी थियो । र, पनि एमालेको संगठन जोगाउन चट्टानझैँ उभिए । 

शिक्षण पेशाका कारण राजनीतिमा सक्रिय हुन नैतिक संकट परेकाले राजेशले गोप्य नाम राखेका थिए । पहाड उपनामबाट पार्टीको संगठन विस्तार,कार्यकर्ता भेला,भेटघाट तथा विभिन्न सम्मेलनमा सहभागी हुन्थे । उनकै नेतृत्वदायी भूमिकाको कारण रोल्पामा एमाले सप्रिएको बताउनेहरु धेरै छन् । अर्थात्, रोल्पामा अहिले एमालेको जुन उपस्थिति छ, त्यसको श्रेय राजेशलाई दिने गरिएको छ । 

उमेरको कारण अहिले शिक्षण पेशाबाट अवकाश भइसकेका छन् । शारीरिकरुपमा अस्वस्थ उनी घरमै सीमित छन् । यद्यपि, बेलाबेला नेताहरुलाई सल्लाह सुझाव भने दिइरहन्छन् ।

क्रान्तिशिखाकी आमा लीला आचार्य पनि एमालेप्रति प्रतिबद्ध छन् । लुम्बिनी प्रदेश कमिटी सदस्य उनी पेशाले शिक्षक हुन् । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि लीलालाई गत २०७४ र २०७९ को निर्वाचनमा एमालेले समानुपातिक कोटाबाट सांसद सिफारिस गरेको थियो ।  

लीलाले पनि एमाले राजनीतिमा सक्रिय हुनका लागि गोप्य नाम राखेको बताउँछिन् । शिक्षण पेशामा सक्रिय राजनीति गर्न अप्ठेरो परेपछि त्यसबाट जोगिन पार्टीभित्र भिन्नै नाम राखेकी हुन् । 

महाधिवेशन प्रतिनिधि चुनिँदा होस् वा समानुपातिकमा सिफारिसमा हुँदा, उनको वास्तविक नाम लीला आचार्य नभएर अरु नै राखिएको थियो । एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला शाखा रोल्पाको दुई कार्यकाल अध्यक्षसमेत भइसकेकी उनी अहिले केन्द्रीय केन्द्रीय कमिटी सदस्य छिन् । 

रोल्पाकै पुराना नेताहरुको भनाई छ– त्यतिबेला राजेश र लीलाको विवाह पार्टीले नै गराइदिएको थियो । प्रतिबद्ध एमाले कार्यकर्ता दम्पतीकी छोरी क्रान्तिशिखा भने यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय छन् । पूर्व सञ्चारकर्मीसमेत रहेकी उनी जिबी राई र रवि लामिछानेहरु मिलेर खोलेको ग्यालेक्सी टिभीमा काम गर्थिन् । त्यतिबेलै रविलाई पहिलोपटक भेटेकी उनी रवि टेलिभिजन छाडेर राजनीतिमा होमिएपछि उतै लागिन् । 

उनै क्रान्तिशिखा अहिले पार्टी सभापतिको गिरफ्तारीविरुद्ध काठमाडौँमा विरोध प्रदर्शनको नेतृत्व गरिरहेकी छन् । हिजो माइतीघरमा रवि रिहाइको माग गर्दै उनले चर्को नारावाजी गरेकी  थिइन् । आज पनि सडकमा ओर्लिएकी छन् । 

रास्वपामा छोरीको सक्रियता देखेर उता बाबु राजेश र आमा लीला भने नतमस्तक छन् । हुन त उनीहरु एमाले हुन्, तर छोरीलाई रोक्न सकिरहेका छैनन् । उल्टो ढाडस दिने गरेको पाइन्छ । 

छोरीले कुनै राजनीतिक दलमा राम्रो करिअर बनाइरहेकी छ भने बाबुआमाले अवरोध नगर्नु अनौठो होइन । तर, छोरीलाई विपक्षी पार्टीमा लाग्न ढाडस दिएको देखेपछि जिल्लाका एमाले नेताहरु नै दम्पतीसँग असन्तुष्ट बनेको अवस्था छ । 

बाबु–आमाको पार्टी सम्लग्न सरकारले रविलाई पक्राउ गर्ने,छोरी बाबु–आमाकै पार्टीविरुद्ध चर्को नारा लगाउँदै हिँड्ने ! रोल्पाका धिताल परिवारमा रमिता चलिरहेको भन्ने चर्चाले लुम्बिनीको राजनीतिक वृत्त पनि गर्माएको छ ।

टिप्पणीहरू