ज्ञापनपत्र बुझाउनुअघि प्रधानमन्त्रीमाथि प्रचण्डको गम्भीर आरोप

ज्ञापनपत्र बुझाउनुअघि प्रधानमन्त्रीमाथि प्रचण्डको गम्भीर आरोप

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको दाबी गर्नुभएको छ । 

भ्रष्टाचार मुद्दा लागेका व्यक्तिबाट अर्बौंको जग्गा दान लिएर प्रधानमन्त्रीले आफूलाई भ्रष्टचारीको संरक्षक पुष्टि गरेको बताउनुभयो । प्रेस सेन्टर नेपालले आज जुम्लामा गरेको पत्रकार भेटघाटमा प्रचण्डले भन्नुभयो, ‘प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने हो भन्ने कुरा आफैंले पुष्टि गरेको स्थिति छ । तैपनि हामीले सरकारलाई सय दिनसम्म हनिमुन पिरियड भनिन्छ । त्यो बेलासम्म खासै विरोधका कार्यक्रम गरेका थिएनौ, छैनौँ ।’

सरकारको सय दिन कट्ने बित्तिकै विरोध गर्ने पनि उहाँले बताउनुभएको छ । ‘सय दिन पुगेपछि विरोध सुरु हुन्छ’, उहाँको भनाई छ । आजै विपक्षी दलका तर्फबाट सरकारलाई ज्ञापन पत्र बुझाउने र विरोधका कार्यक्रम शुरु गर्ने प्रचण्डले जानकारी दिनुभयो । 

आफ्नो नेतृत्वको सरकारले सुशासन, आर्थिक सम्मृद्धि र अन्तर्राष्ट्रिय रूपमा पनि देशको इज्जत बढाउन महत्त्वपूर्ण काम गरेको तर भ्रष्टाचारीमाथि कारबाही गर्न थालेपछि संसदका दुई ठूला दल मिलेर सरकार ढालेको उहाँको जिकिर छ । न्कल्ली भूटानी शरणार्थी प्रकरणका फरार अभियुक्त समातिएपछि बूढानीलकण्ठ र बालकोटमा भूकम्प गएको प्रचण्डले बताउनुभयो ।

टिप्पणीहरू