केपीले भाउ नदिएपछि वामदेवको रहर अलपत्र

केपीले भाउ नदिएपछि वामदेवको रहर अलपत्र

वामपन्थी नेता तथा राष्ट्रिय सभा सांसद वामदेव गौतमले एमालेमा ठाउँ नपाएको भन्दै चित्त दुःखाएका छन् । 

आज सिंहदरबारमा बसेको संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा उनले आफ्नो क्षमता नचिनेको भन्दै एमाले नेतृत्वसँग गुनासो पोखेका हुन् । 

एमाले निर्माणमा आफूले जीवनको आधा समय बिताएको बताउँदै गौतमले त्यसको उचित कदर नभएको सुनाए । ‘म ७६ वर्षको मान्छे, कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएको छु’, उनले भने, ‘स्कुल, कलेजमा पढ्न पाइएन, नपेढेरै पनि एमालेलाई देशव्यापी रुपमा ठूलो पार्टी बनाएँ ।’

पूर्व गृहमन्त्रीसमेत रहेका गौतमले ७५ प्रतिशत एमाले निर्माण आफूले गरेको दावी गरे । ‘नेकपा (एमाले) मा आज पनि मैले निर्माण गरेको ७५ प्रतिशत छ । अब मेरै बुद्धी कमजोर भयो । र बाहिर बसियो’, उनले भने । 

तत्कालीन नेकपाको अन्तरसंघर्षमा ओलीविरोधी क्याम्पमा रहेका र विभाजनपछि कतै नलागेका गौतम एमालेमा फर्कन इच्छुक देखिन्छन् । उनले पटक–पटक एमालेको जिम्मेवारीमा बसेर काम गर्ने इच्छा व्यक्त गर्दै आएका छन् । 

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले भाउ नदिएपछि घर फर्किने गौतमको रहर अलपत्र परेको छ ।

टिप्पणीहरू