प्रचण्ड राति बालुवाटार जाँदै

प्रचण्ड राति बालुवाटार जाँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाने कार्यक्रम तय भएको छ । सरकारलाई ज्ञापन पत्र बुझाउने समय हेरफेर भएपछि उहाँ विपक्षी दलका नेताहरुसहित ८ बजे त्यहाँ जान लाग्नुभएको छ । 

यसअघि अपरान्ह ४ बजेदेखि ५ बजेको समयमा सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर संयुक्त ज्ञापन पत्र बुझाउने विपक्षी दलहरुको पूर्व निर्धारित कार्यक्रम थियो । तर माओवादी अध्यक्ष प्रचण्ड जुम्लाबाट फर्किन ढिला भएपछि साँझ ८ बजे बालुवाटार पुगेरै ज्ञापन पत्र बुझाउन लागिएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्ड पछिल्लो समय जिल्ला दौडमा हुनुहुन्छ । आज बिहान नेपालगञ्जबाट मुगु पुग्नुभएका उहाँले रारा तालको अवलोकन गर्नुभयो । त्यसपछि उहाँ जुम्ला पुगेर गोठीचौरमा आयोजित पार्टी भेलालाई सम्बोधन गरेर साँझ काठमाडौं फर्कनुभएको हो । 

गत शुक्रबार बसेको विपक्षी दलहरुको बैठकले ध्यानाकर्षण तथा ज्ञापन पत्रको मस्यौदा तयार गर्न तीन सदस्यीय कार्यदल बनाएको थियो । माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत, रास्वपाबाट शिशिर खनाल र एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे सदस्य थिए ।

टिप्पणीहरू