पार्टी फुटे पनि सामना गर्न माधव नेपाल तयार

पार्टी फुटे पनि सामना गर्न माधव नेपाल तयार
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी नफुट्ने दाबी गर्नुभएको छ । उहाँले फुटको हल्लामा कुनै सत्यता नभएको बताउनुभएको छ ।  

कपिलवस्तुमा आयोजित लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले त्यस्तो हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभएको छ । भन्नुभयो, ‘हाम्रो पार्टी एमाले वा माओवादी कसैसँग विलीन हुँदैन, त्यस्तो चर्चा गलत हो । कागले कान लग्यो भनेर नदौडिनुस्, कान छाम्नुस् ।’

पार्टी विभाजन हुन लागेको समाचारमा सत्यता नभएको बताए पनि अध्यक्ष नेपालले फुटेमा सामना गर्नुको विकल्प नभएको र सामनाको निम्ति तयार रहेको उल्लेख गर्नुभएको छ । ‘फुटेछ भने आकाशै खस्दैन, हिम्मतका साथ सामना गर्नुको विकल्प छैन,’ उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले पार्टी विभाजन गर्ने उद्देश्यले अध्यादेश ल्याउने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिनुभएको छ । उहाँले सरकारले अरू पार्टीलाई फुटाउने दुस्साहस गरे परिणाम नराम्रो हुने बताउनुभयो ।

उहाँले एमालेको भन्दा आफ्नो पार्टीको संगठित सदस्य धेरै रहेको दाबीसमेत गर्नुभएको छ । एमालेको नवौं महाधिवेशनसम्म एक लाख पाँच हजार रहेको संगठित सदस्यको तुलनामा आफ्नो पार्टीले तीन वर्षमा डेढ लाख सदस्य पुर्याएको दाबी गर्नुभएको छ ।

टिप्पणीहरू