सल्लाहकार पुलिसको, सेवा रविको !

सल्लाहकार पुलिसको, सेवा रविको !
सुन्नुहोस्

पोखरा प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई नेपाल प्रहरीकै कानुनी सल्लाहकारले स्वार्थको द्वन्द्व हुनेगरी साथ सहयोग दिइरहेको पाइएको छ । नेपाल प्रहरीको वैतनिक सल्लाहकार रहेका ती कानुन व्यवसायी गत शुक्रबार रवि लामिछानेलाई समातिने बेला उनको कार्यकक्षमा सङ्गसङ्गै थिए । 

रास्वपाको केन्द्रीय कार्यालयभित्र प्रहरी नै छक्क पर्ने उक्त उदेकलाग्दो घटनामा मुछिएका पात्र हुन् वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यका भाइ अधिवक्ता सुभाष आचार्य जो लामो समयदेखि नेपाल प्रहरीको वैतनिक कानुनी सल्लाहकार रहँदै आएका छन् । तर,शुक्रबार रातिदेखि भने उनको भूमिका शंकास्पद,गम्भीर र दोहोरो भएको गुनासो सुन्न थालिएको छ ।

जस्तोसुकै अभियुक्तलाई समात्ने,अनुसन्धान र अभियोजन गर्ने निकाय नेपाल प्रहरी हो । रविको पक्राउ,जारी अनुसन्धान र भोलि अभियोजनको काम पनि प्रहरीले नै गरिरहेको छ । तर,प्रहरीलाई अब कसरी जाने भनी बाटो देखाउने आचार्य स्वयं रवि पक्राउ पर्नुअघि र पक्राउपछि उनको अगाडि पछाडि देखिएपछि भने उनको पेशागत धर्ममाथि गम्भीर प्रश्न खडा भएको हो । 

उनको उक्त भूमिकाले कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट अर्थात् स्वार्थको द्वन्द्वलाई उजागर गरिदिएको बताइन्छ । यस्तो गम्भीर स्वार्थमा मुछिएका व्यक्तिले नेपाल प्रहरीले दायर गर्ने कुनै पनि मुद्दामा निष्पक्ष पैरवी गर्ला कि नगर्ला रु यक्ष प्रश्न उठेको छ । 

जनआस्थाले फेरि सोध्यो, ‘रवि,डिपी, मनिष झाको पछाडि चश्मा लगाएर उभिने तपाईं होइन र ?’  उनले जवाफ फर्काए, ‘तपाईंसँग फोटो छ ? छ भने खोई फोटो पठाउनुस् त ।’

आचार्य कानुन व्यवसायीहरुमध्येबाट पहिले सर्वोच्चको न्यायाधीश र कालान्तरमा प्रधानन्यायाधीश बन्ने रोडम्यापमा हिँडेको समकालीनहरुको बुझाई छ । रास्वपाका नेताहरुमध्ये एकथरी भने उनै सुभाषले रविलाई सहकारी प्रकरणमा केही नहुने भनी ढाडस दिँदै उक्साएको दाबी गर्छन् । ‘कारबाही हुँदैन’ भनेर उक्साउँदै आचार्यले रविलाई यहाँसम्म ल्याइपुर्याएको भन्नेहरु यसबीच निकै जना देखिएका छन् । 

उता रवि पछिल्लो पटक गृहमन्त्री हुँदा आइजीपी बसन्त कुँवरलाई उनका पक्षमा अन्धाधुन्द बोल्न लगाउने पात्रको रुपमा पनि आचार्यलाई चित्रित गरिएको छ । संसदीय समितिमा महानिरीक्षकले तत्कालीन गृहमन्त्री रविको कुनै पनि प्रहरी युनिटमा सहकारी ठगीसम्बन्धी उजुरी नपरेको रेडिमेड जवाफ दिएका थिए ।

गृहमन्त्री रमेश लेखकनिकट स्रोत भन्छ, ‘एउटै व्यक्ति सँधै जो आइजिपी हुँदा पनि कसरी उही  पदमा टिकिरहन सक्छ ?’

सिआइबी टोलीले पक्रनुअघि रविले बायाँतर्फ श्रीमती निकिता,दायाँतर्फ डिपी अर्याल,मनिष झा र सुभाष आचार्यलाई उभ्याएर पक्राउ पुर्जीमा दस्तखत गर्दै भनेका थिए, ‘मलाई यिनीहरुले (सरकारले) जिउँदो छाडे भने यही हातले ती सबलाई जेल हाल्छु ।’ रवि त्यसरी कुर्लिंदा प्रहरीको कानुनी सल्लाहकार पछाडि बसेर मुख मिठ्याइरहेको देखिन्छ । रास्वपा उच्च स्रोत भन्छ, ‘पक्राउको क्षणमा रविलाई त्यसरी उन्मादी भाषा बोल्न केले प्रेरित गर्यो ? यसको खोजी गरियोस् ।’
यी सबै घटनाक्रमबारे जनआस्थाको तर्फबाट सुभाषलाई सोधिएको थियो, ‘रविलाई शुक्रबार राति पक्रँदा रास्वपा सभापतिको कार्यकक्षमा तपाईं प्रहरीको तर्फबाट जानुभएको कि रविको तर्फबाट ?’ उनले आफू त्यहाँ जाँदै नगएको दाबी गरेका छन् । 

जनआस्थाले फेरि सोध्यो, ‘रवि,डिपी, मनिष झाको पछाडि चश्मा लगाएर उभिने तपाईं होइन र ?’  उनले जवाफ फर्काए, ‘तपाईंसँग फोटो छ ? छ भने खोई फोटो पठाउनुस् त ।’ 

‘प्रहरीको वैतनिक कानुनी सल्लाहकार त्यहाँ जाँदा स्वार्थको द्वन्द्व भएन र ?’ जनआस्थाको उक्त प्रश्नको जवाफ दिँदै भने,‘प्रहरीको कानुनी सल्लाहकार सरकारी वकिल हो,म होइन ।’ यति भनेपछि उनले मोबाइल अफ गरे । तर, कुराकानीमा आचार्यले त्यो दिन रास्वपा कार्यालयमा आफू नगएको भन्न सकेनन् ।

टिप्पणीहरू