‘भिआइपी’ थुनुवाले के के मागे ?

‘भिआइपी’ थुनुवाले के के मागे ?
सुन्नुहोस्

सहकारी संस्थाको बचत रकम ठगी र संगठित अपराधको आरोप लागेपछि अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि लामिछानेले एकपछि अर्को माग (डिमाण्ड) राखेको बताइन्छ । गत शुक्रबार साँझ काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका उनलाई राति नै पोखरा पुर्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनलाई कास्की प्रहरीले हिरासतमा विशेष सुविधा दिएकोबारे प्रहरीभित्रै चर्को आलोचना भएको बताइन्छ ।

हिजो बयान सक्न सरकारी वकिलहरुका साथै प्रहरीलाई दबाब दिएका उनीमाथि अनुसन्धान नटुंगिएको भन्दै प्रहरीको आग्रहमा अदालतले अर्को एक साता म्याद थपिदिएको छ । आगामी बुधबारसम्म म्याद रहेका उनलाई बिहीबार अदालतमा पेश गर्नुपर्ने हुन्छ । तर, यो वर्षको तिहार बिदा सोही दिनबाट कात्तिक १९ गतेसम्म रहेकाले २० गते मंगलबार मात्र रविलाई जिल्ला अदालत कास्कीमा पेश गरिने प्रहरीले जनाएको छ ।

‘उनी दुई चार जनाको समूह देख्नेबित्तिक्कै पिसाब फेर्नपर्यो भन्थे, हामीले बोल्दै नबोली गाडी हुईंक्यायौं । काठमाडौंपछि उनले कुरिनटार र पोखरामा मात्रै शौचालय प्रयोग गरे ।’

रविले आजको इजलासमा पनि आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएको भन्दै बोल्ने प्रयास गरेका थिए । लामिछानेका वकिलहरुले प्रहरी हिरासतमा उनीमाथि राम्रो व्यवहार नभएको जनाउँदै प्रतिवादीलाई नै बोल्न  दिनुपर्ने माग राखेका थिए । जबकि हिरासतमा रहेका उनले गत आइतबार अदालतको प्राङ्गणमा पत्रकार सम्मेलन सरह बोल्दै सरकारलाई चुनौती दिएका थिए ।

हिजोको बयानबारे स्रोत भन्छ, ‘बयान नसकिएसम्म कुर्सीबाट नउठ्ने अडान लिए । निकै कड्किँदै आक्रोशपूर्ण भाषा बोले । दिउँसो २ बजेदेखि शुरु भएको बयान रातिसम्म लम्बेको थियो ।’ रविको भनाई उद्धृत गर्दै उनले भने, ‘आज बयान नसकेसम्म यो कुर्सीबाट उठ्दिनँ ।’ तर, अदालतले आज सात दिनको म्याद थपिदिएको छ ।

पक्राउ परेकै दिन साँझ प्रहरीको सिआइबी टोलीलाई रविले स्थलमार्गबाट पोखरा लैजान दबाब दिएका थिए । चितवनको आफ्नो निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने मुङ्लिङ भएर प्रहरीको भ्यानमा पोखरा जाँदा राजनीतिक लाभ लिन सकिने जोड घटाउमा उनले उक्त माग राखेको प्रहरीको ठम्याइ छ । त्यसबेला प्रहरीले सहजै उनको डिमाण्डलाई स्वीकार गरेको थियो जबकि त्यसअघि असोज ६ गते अपरान्ह काठमाडौंमा पक्राउ परेका छविलाल जोशीलाई भने राति नै हवाई उडानबाट पोखरा पुर्याइएको थियो । रविलाई पोखरा लैजान उडानको पहल नगरी प्रहरीले स्थलमार्गबाट उनको चाहनाबमोजिमकै सवारी साधनमा लैजानुले त्यतिबेलै केही शंका उब्जाएको थियो । 

सोही राति उनले धादिङका गल्छी, मलेखु, चितवनको मुगलिङ,तनहुँको आँबुखैरेनी, दमौलीमा रास्वपाका समर्थक देख्नेबित्तिक्कै पिसाब लागेको भन्दै गाडी रोक्न लगाएका थिए । तर, कुरिनटारस्थित एपीएफको विपद् व्यवस्थापन तालिम केन्द्रमा खाना खान र दिसापिसाब गर्न केहीबेर मात्रै रोकिएको प्रहरी स्रोतले जनाएको छ । स्रोत भन्छ, ‘उनी दुई चार जनाको समूह देख्नेबित्तिक्कै पिसाब फेर्नपर्यो भन्थे, हामीले बोल्दै नबोली गाडी हुईंक्यायौं । काठमाडौंपछि उनले कुरिनटार र पोखरामा मात्रै शौचालय प्रयोग गरे ।’

 

 

टिप्पणीहरू