जनार्दन र शक्तिलाई गिज्याउने पुल
रुकुम र जाजरकोट जिल्लाबाट दुई जना केन्द्रीय राजनीतिमा शक्तिशाली नेता छन् । उनीहरू हुन् माओवादीका जनार्दन शर्मा र शक्ति बस्नेत । यी दुबै जना पटक–पटक मन्त्री पनि भइसकेका छन् । तर, यस्ता शक्तिशाली नेता रहेको जिल्लामा मध्यपहाडी लोकमार्गको पुल एक दशकदेखि अलपत्र छ । जुन राष्ट्रिय गौरवको आयोजनामा पर्ने रुकुम चौरजहारी र जाजरकोट जोड्ने मोटरेबल पुल हो ।
पुल निर्माण २०७२ सालमा थालिए पनि अझै सम्पन्न हुन सकेको छैन । केही वर्षअघि करिब १५ प्रतिशत काम भए पनि ६ वर्षयता कुनै प्रगति छैन । रुकुमबाट पूर्वतिरको सडकखण्ड सञ्चालनमा आएर पोखरा–काठमाडाैँसम्म सीधा यातायात सञ्चालन हुने भए पनि पश्चिमतिर भने त्यही पुलको कारण अहिलेसम्म अवरुद्ध छ ।
शुरुमा उक्त पुल निर्माणको जिम्मा वाईपी कन्स्ट्रक्सनले लिएको थियो । तर, उसलाई पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले कारवाही गरेर ठेक्का रद्द गरिदियो । त्यसपछि कार्यालयले पटक–पटक आह्वान गरे पनि हालसम्म कसैले ठेक्का हालेका छैनन् । दशैँ–तिहारलगत्तै कार्यालयले फेरि अर्को पटक सूचना प्रकाशन गर्ने तयारी छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू