राम राम, यस्तो पनि हुन्छ बर्दीधारीको काम ?
सशस्त्र प्रहरीका तर्फबाट विपद व्यवस्थापनको काम हेर्ने नारायणगढस्थित गणको नाकै अघिल्तिर प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको पुत्ला शव मलामीसहित दहन गरेको बारे माथिल्लो निकायलाई रिपोर्ट गर्न आवश्यक नठानेको भन्दै चितवनका प्रजिअ इन्द्रदेव यादव र प्रहरी प्रमुख भावेश रिमाललाई मन्त्रालयमा तानियो तर सशस्त्रलाई भने यसबारे कुनै सोधपुछ नै गरिएन । नेपाल प्रहरीलाई सो घटनाबारे जानकारी नहुन सक्छ तर पुलकै बाटो प्रधानमन्त्रीको पुत्ला एकोहोरो शंख बजाउँदै नारायणीघाटमा संस्कार गर्दा पनि सशस्त्र प्रहरीले कुनै हलचल नगर्दा भने अचम्म मानिएको छ ।
करिब ५ सय जना प्रदर्शनकारी सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपा अध्यक्ष रवि लामिछानेको पक्ष र सरकारको विपक्षमा सो शवयात्रा निकाल्दै मलामी गएका थिए । सिडिओ, प्रहरी र सशस्त्र कसैले पनि रिपोर्टिङ नगरेको यो घटनाबारे राष्ट्रिय अनुसन्धान कार्यालयले बेलैमा बरफबाग हुँदै प्रधानमन्त्री कार्यालयलाई सूचना पठाएको थियो ।
स्रोतका अनुसार सिडिओलाई सूचना दिने भनेको प्रहरी र सशस्त्र प्रहरीले नै हो । सिडिओको छुट्टै अर्को सूचना संयन्त्र हुँदैन । घण्टी जुलुसले शंख फुक्दै नारायणी पुल तरेको थियो । पुलमा सशस्त्र प्रहरीको एउटा टोली कोही हाम्फाल्न, कोही बगेर आउलान् भन्दै उद्धार गर्नका लागि चौबिसै घण्टा ड्युटीमा बस्ने गरेको छ । तर, यो मलामी जुलुसबारे सशस्त्रका एसपी राजेश खरेलले सिडिओलाई रिपोर्ट दिनुपर्ने दायित्व पालना गरेनन् । यसमा सिभिल ड्रेसमा कर्मचारी नखटाउनु भन्ने गृहको आदेशले पनि काम गरेको हुनसक्छ ।
यसबाट चितवन जस्तो संवेदनशील जिल्लाका सुरक्षा पदाधिकारीहरुबीच एकापसमा सहयोग गर्ने वातावरण नदेखिएको प्रष्ट हुन्छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू