प्रधानमन्त्रीकै स्टाफ लुटिए

प्रधानमन्त्रीकै स्टाफ लुटिए

सूचना प्रविधिको बढ्दो प्रयोगसँगै बैंकिङ्ग अपराधका घटना पनि बढिरहेका छन् । सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, भाइबर ह्याक गरेर मेसेञ्जरमार्फत पैसा माग्ने गिरोह नै सक्रिय छ । 

शुरुमा ह्याकरहरुले अरुको अकाउन्ट आफ्नो कब्जामा लिई म्यासेञ्जरमा खबर पठाउँछन् । त्यसपछि सबैभन्दा बढी कुराकानी हुने साथीलाई आफू समस्यामा परेको भनी विश्वास दिलाउँदै रकम पठाउन आग्रह गर्छन् । चिनजानको साथीले अप्ठेरोमा परेको भन्दै म्यासेज गरेपछि पैसा दिने र पछि ठगिएको थाहा पाएपछि उजुरी लिएर प्रहरी गुहार्नेको संख्या बढ्दो छ।  

सर्वसाधारणदेखि उच्चपदस्थ व्यक्तिसम्म देशकै प्रशासनिक केन्द्र सिंहदरबारमा समेत ह्याकरको फन्दामा परेका घटना सार्वजनिक भैरहेका हुन्छन् । त्यस्तै एउटा घटना बाहिर आएको छ । देशभरकै कर्मचारी प्रशासनको नेतृत्व गर्ने मुख्यसचिव एकनारायण अर्यालको सचिवालयका कम्प्युटर अपरेटर अमर अधिकारीको फेसबुक ह्याक गरी दुई जना भर्खरै ठगिएका छन्। 

उनको फेसबुक ह्याक गर्नेले कात्तिक ८ गते बिहीबार दुई जनासँग क्रमशः ७० र ३५ हजार फुत्काएको बुझिएको छ । पछि पैसा पठाउनेहरुले फोन गरेर भनेपछि बल्ल थाहा पाएका अधिकारीले साइबर ब्युरोमा उजुरी दिएका छन् । डिआइजी नविन्द अर्याललाई पनि यसबारे जानकारी गराइएको छ । प्रहरीले पटक–पटक सूचना निकालेर ठगीका यस्ता घटनाबाट जोगिन सर्वसाधारणलाई सुसूचित गराउँदै आएको छ । तर, प्रधानमन्त्री कार्यालयकै कम्प्युटर अपरेटरको यो हालत छ भने सर्वसाधारणको अवस्था के होला ?

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू