कारागारबाट भागेका अभियुक्तको घुँडामुनि गोली प्रहार
सजाय भुक्तानको क्रममा कारागारबाट दुई पटक भागेका विनायककुमार यादव छठ मनाउने क्रममा समातिएका छन् ।
सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका उनी गएराति नेपाल—भारत सीमा नजिकै कोशी गाउँपालिका—८, पथरचट्टानबाट पक्राउ परेका हुन् । उनी छठ मनाउन भारतको बिहारबाट नेपाल आउँदै गरेको सूचनाका आधारमा प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
फरार प्रतिवादी विनायकलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोलीसमेत चलाएको थियो । प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले पक्राउको क्रममा प्रतिवादी भाग्न खोजेकाले उनलाई नियन्त्रणमा लिन घुँडामुनी गोली फायर गर्नुपरेको जानकारी दिए ।
घटना सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको सुनसरी प्रहरीले विनायकमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।
विनायककुमार यादव कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीबाट अपराधी ठहर भएका थिए । अदालतको फैसला बमोजिम २० वर्ष ८ महिना १४ दिनको सजाय कैद भुक्तानीका क्रममा झुम्का कारागारमा रहँदा उनी २०६९ कात्तिक २३ गते सुरूङ खनेर निस्किएका थिए । त्यसबखत उनीसँगै बङ्गलादेशी नागरिक सुव्रत बेन र भारतीय अपराधी धिरेन्द्र यादवसहित १२ जना कारागारबाट एकसाथ भागेका थिए ।
झुम्का कारागारबाट भागेका उनलाई केही समयपछि सप्तरी प्रहरीले गोबरगाढाबाट पक्राउ गरेको थियो । यद्यपी कैद भुक्तानका लागि सिन्धुपाल्चोक कारागारमा राखिएका उनी त्यहाँबाट समेत भूकम्प गएको मौका छोपी २०७२ बैशाख १२ गते फेरि भागे । प्रहरीकाअनुसार कारागारबाट सुरूङ खनेर भागेका उनीसहित १२ जनामध्ये अहिलेसम्म नेपाल र भारतमा गरी सात जना पक्राउ परेका छन् ।
टिप्पणीहरू