रविलाई कुर्दै भैरहवामा रास्वपा कार्यकर्ता र सहकारी पीडित
सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई पोखराबाट रुपन्देहीमा लैजाने खबरपछि उनका कार्यकर्ताहरु भैरहवामा जम्मा भएका छन् । पोखराको सूर्यदर्शनपछि बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणमा रवि मुछिएका छन् ।
पूरक निवेदनको आधारमा उनलाई बयानका लागि पोखराबाट बुद्ध एअरको विमानमा भैरहवा लगिँदैछ । बिहानै भैरहवा लैजाने भन्दै लामिछानेलाई ५ बजे नै पोखरा विमानस्थल पुर्याइएको बताइन्छ । तर,भैरहवाको आकाश नखुलेकाले पोखराबाट उड्न ठिक्क परेको बुद्ध एअरको विमान ९ बजेसम्म पोखरा विमानस्थलमै रोकिएको छ ।
भैरहवास्थित जिल्ला प्रहरी कार्यालय पुर्याएपछि उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर बयान लिने थाहा पाएपछि कार्यकर्ताहरु चोकमा जम्मा भएका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका उनको पक्षमा प्रदर्शन गर्न लागिएको हो । रास्वपा कार्यकर्ताहरुले भैरहवाको बुद्धचोकस्थित लुम्बिनी गेटमा भेला भएर जिल्ला प्रहरी कार्यालय नजिक नजिक सभा गर्ने बताएका छन् ।
लामिछानेलाई रुपन्देही ल्याइने भएपछि सुप्रिम सहकारीका पीडितहरुले पनि प्रदर्शनको तयारी गरेका छन् । सहकारी पीडित संघर्ष समितिले पोखरामा झैँ विरोध प्रदर्शन गर्न लागेको हो । उनीहरुले बचत फिर्ताको माग गर्दै दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् ।
टिप्पणीहरू