सात गतेका लागि एमालेद्वारा समिति गठन

सात गतेका लागि एमालेद्वारा समिति गठन
सुन्नुहोस्

'जागरण सभा'को नाममा काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको सत्तारुढ नेकपा एमालेले संयोजन समिति बनाएको छ । 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले बागमती प्रदेशका इञ्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो । कैलाश ढुंगेल सहसंयोजक रहेको समितिमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, शमिक बडाल र जनक चौधरी सदस्य रहेका छन् । 

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ५० हजार मान्छे उतार्न निर्देशन दिएको सन्दर्भमा एमालेले जागरण सभालाई प्रभावकारी बनाउन संयोजन समिति गठन गरेको जनाएको छ ।

 सरकारको नेतृत्व गरिरहेको एमालेले आगामी मङ्सिर ७ गते काठमाडौँमा सभा गर्दैछ । अघिल्लो वर्ष दुर्गा प्रसाईंलाई काउन्टर दिन महेश बस्नेतको अगुवाइमा आन्दोलन गरेकै दिन पारेर मङ्सिर ७ गते शक्ति प्रदर्शन गर्न लागेको हो । 

गत वर्ष मङ्सिर ७ गते प्रसाईंले लघुवित्त र सहकारी पीडितलाई काठमाडौंमा उतारेका थिए भने त्यहि दिन एमालेको युवा संघले पनि प्रदर्शन गरेको थियो ।

टिप्पणीहरू